तेह्रथुम, २८ चैत / तेह्रथुम सदरमुकाम म्याङ्लुङमा रहेको कारागारका कैदी भीम नेपाली पहिलो पटक हर्षित थिए । दम, प्रेसर, पायल्स, ग्याष्ट्रिकका विरामी नेपाली हर्षित हुनुको कारण एउटै थियो पहिलो पटक सबै रोगको उपचारका लागि आवश्यक परामर्श र औषधि पाउनु ।
यो अवसर जुराएको थियो मोरङ लाइन्स क्लव अफ विराटनगर र विराटनगर भन्सार एजेन्स संघले । आइतबार बिहानै उक्त कारागारमा मोरङ लाइन्स क्लवको आयोजना र एजेन्ट संघको सहयोगमा भएको शिविरमा ८४ जना कैदी बन्दीले स्वास्थ्य उपचार सेवा पाए । उपचार सेवाका साथै औषधि विरतण पनि गरिएको थियो ।
नेपाली जस्तै अर्का बिरामी टार्जन राईले पनि आफूले पहिलो पटक कारागारमै निःशुल्क औषधि उपचारको व्यवस्था पाउँदा खुसी लागेको बताए । ‘कैदी बन्दीलाई उपचारमा लानका लागि गम्भिर बिरामी हुनै पर्छ,’ राईले भने, ‘यसरी ६/६ महिनामा शिविर आइदिए हाम्रो के कस्तो स्वास्थ्य अवस्था छ भन्ने कुरा आफैंलाई पनि थाहा हुने थियो ।’
धेरै बिरामीले उपचार गराउनु पर्ने अवस्था भएर पनि रोग पालेर बसेको पाइएको मोरङ लाइन्स क्लव अफ विराटनगरका अध्यक्ष डाक्टर बालकृष्ण साहले बताए । ‘धेरै बिरामीले उपचारका लागि जानु पर्ने अवस्था भएपनि रोग पालेर बसेको पाइयो,’ साहको भनाइ छ, ‘कैदी बन्दीमा गम्भिर खालको रोग नदेखिएपनि सामान्य रोग पालेर बस्दा केही समयमै त्यसले गम्भिर समस्या निम्त्याउने प्रति ध्यान दिएको देखिएन ।’
शिविरमा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर मुक्तिनारायण साहले सबैले आफ्नो रोगको विषयमा आफैं सचेत हुनु पर्ने बताए । ‘सरकारले या डाक्टरहरु मात्रै रोगको विषयमा चिन्ता लिने विषय होइन,’ साहले भने, ‘प्रत्येक व्यक्ति–व्यक्तिले रोग नलाग्न गर्नु पर्ने सरसफाइ तथा खानपानमा ध्यान दिनु पर्दछ ।’ भनाइ नै छ, रोगको उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै उत्तम हुन्छ । तर, १० महिला र २५ जना पुरुष रहने कारागारको क्षमता भएपनि अहिले ८५ जना कैदी बन्दी त्यहाँ बसिरहेका छन् ।
जसका कारण पनि फोहोर मैला व्यवस्थापन देखि शौचालय, धारा पानी बसोबासको व्यवस्था र खानपानका कारण पनि संक्रमणको सम्भावना बढी देखिएको जिल्ला अस्पताल तेह्रथुमका डाक्टर रोहित झाले बताए । ‘सुत्दा पनि एक अर्कासँग खप्टिएर सुत्नु पर्ने अवस्था छ’, कैदी निरबहादुर लिम्बूले भने, ‘सुत्न, बस्न, शौचालय जान पनि लाइनमा बस्नु पर्छ ।’ गर्मिको समयमा फोहोरको समस्या अझै बढ्ने लिम्बूले बताए ।
कारागारको अवस्था जिर्ण भएको कारण कैदी बन्दीलाई धेरै समस्या भइरहेको कारागारका सुरक्षा प्रमुख पूर्णबहादुर राउतले बताए । ‘पुरानो संरचना त्यसमाथि ०७२ सालमा आएको भुकम्पले भवन क्षतविक्षत बनाएको छ,’ राउतले भने, ‘सुरक्षाका लागि राम्रो ड्युटी पोष्ट पनि छैन, जिर्ण अवस्थामा छ, रिपोर्ट पठाएका छौं सरकारले यस पटकको बजेटमा व्यवस्था गर्ला कि ? ।’
कार्यक्रममा बोल्दै विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले सेवा भावका कारण पहाडी जिल्लामा आफूहरु पुगेको बताए । उनले आगामि दिनमा पनि पहाडी जिल्लाका विभिन्न दुर्गम क्षेत्रमा सहयोग लिएर आफूहरु जाने प्रतिबद्धता जनाए । शिविरमा जिल्ला अस्पताल तेह्रथुमका डाक्टर तथा स्टाफ नर्सहरुले उपचारमा सहयोग गरेका थिए ।