काठमाडौं, २३ चैत /नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जुटेको किशोर प्रधान प्यानलले महासंघको नेतृत्व शेखर गोल्छा प्यानलको प्रचार अभियानमा जुटेको उल्लेख गर्दै आपत्ति जनाएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्षको उम्मेदवारी समेत दिएका प्रधानले महासंघको नेतृत्व गोल्छा प्यानलको निर्वाचन अभियानमा संलग्न भएको आरोप लगाउँदै आपत्ति जनाएका हुन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले महासंघका अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष भवाणी राणाले पदीय मर्यादा, महासंघको विधान विपरित र निर्वाचन आचारसंहितको समेत ख्याल नगरी गोल्छा प्यानलको प्रचार अभियानमा जुटेको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।
प्रधानले निर्वाचनलाई मर्यादित बनाउनु पर्ने नेतृत्व आफै समुह विशेषको प्रचारमा जुटेकोमा आफूहरुको गम्भिर आपत्ति रहेको पनि स्पष्ट पारे ।
प्रधान प्यानलबाट जिल्ला नगरतर्फ प्रमोद श्रेष्ठ, बस्तुगततर्फ शंकर पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रधान प्यानलले एशोसियटसतर्फको उपाध्यक्षमा उम्मेदवारी नदिएपछि चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्विरोध चयन भएका छन । यता गोल्छा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले उम्मेदवारी दिएका छन् । त्यसै गरी गोल्छा प्यानलबाट जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ र बस्तुगततर्फ उमेश श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासंघको ५१ औं साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि नीति र नेतृत्व चयन गर्दैछ ।