तेजन खड्का
उर्लाबारी,२१ चैत / पप, ¥याप र रकगीतमा युवायुवतीहरूको मोह बढ्दै गएपछि पूर्वीय शास्त्रहरूमा आधारित धार्मिक महत्वका शुभकार्यमा नाचिने बालन नाच गुमनाम हुँदै गएको छ । जसको कारण परम्परागत नाच तथा बाजागाजाहरू किनारा लाग्दै गएका छन् ।
खासगरी खस र आर्य सम्प्रदायमा नाचिने बालनलाई सूचना प्रविधि सँगै भित्रिएको पश्चिमा संस्कृतिले विस्थापित गराएको हो । पुराण, स्वस्थानी पूजा, ग्रहशान्ति, रूद्री–चण्डी पाठ जस्ता शुभकार्यमा बालन नाचिने गरिन्थ्यो ।
झण्डै एक दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज बालन नाचको संस्कृति हराउँदै गएको बताउछन् ।
शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो । तर, पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच आझेलमा परेको उनले बताए । बालन नाँच्ने मानिसको समेत अभाव खड्किएको उनको भनाई छ । संस्कृति संबद्र्धन गर्ने युवाहरू नै बिदेशिएका छन्’, उनले भने–यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् ।’
भट्टराई बालन नाचका पारखी हुन् । उनी नाँच्न पनि उत्तिकै सिपालु छन् । भन्छन्–‘सिक्छु भनेर कोही आउँदैनन् ,कतै नाँच भइ गयो भने हेर्ने दर्शकको समेत अभाव हुन थालेको छ । ’
हिन्दूग्रन्थहरू गीता, रामायण, देवी भगवतबाट कथा झिकेर रामजीकी जय, सीताजीकी जय, कृष्णजीकी जयबाट शुरू गर्दै रातभर बालन नाच्ने गरिन्छ । चारदेखि सात जोडी समूह बनाएर झ्याली, झयाम्टा र मजुराहरू बजाउँदै ४ सय २७ चरणमा नाच सकिने गर्दछ ।
नाचिने घरका आँगनबीचमा एक खाँबो गाडिएको हुन्छ । उक्त खाँबोलाई मालिका भनिन्छ । मालिका वरिपरि घुम्दै रामायण, गीता, देवी भगवतका श्लोकका लयमा बाजागाजासँगै नाचिन्छ ।
हा……हा….
हामी र आयौ, पञ्चै बालन खेल्न आगन बढारी राखन
हा…..हा….
हामी र जान्छौ दिदीबहिनी भेट्न चामल कुटाई राखन
नाच शुरू गर्नु पूर्व नाच्ने मध्येबाट एक जनालाई नेता चुनिन्छ । नाचमा श्लाके पाठ गर्ने व्यक्तिलाई ‘खलिया’ भनिन्छ । खलियाले लयवद्ध गएपछि नाच्नेले पुनः श्लोक पाठ गर्दै घुम्ने र नाच्ने गर्छन् ।
यो क्रम साझँबाट शुरू भएर बिहानसम्म पनि चल्ने गर्छ । पृथ्वी, जल र आकाशका सबै देवता पुकारेर बालन शुरू गरिन्छ र तिनीहरूलाई विदा गरेर मात्र समापन गरिन्छ । बालनमा दुई दुईजनाको जोडी आमनेसामने उभिन्छन् ।
दुवैको हात जोडेर ‘हाँ…….’ को लामो लय निकाल्छन्, खलियो पाठ गरेको श्लाके दुई पटक गाउँदै पुनः आमनेसामने भएर हात जोड्दै उक्त श्लोकको नाच सम्पन्न गर्छन् ।
बीचमा ‘जतिकम्पा, जतिकम्पा हो हो हो’ भन्दै मालिका वरिपरि झ्याम्टा बजाउँदै उफ्रिएर नाच्छन् । त्यो बेला जो जति उफ्रिएर नाच्यो त्यसको त्यति नै बढी प्रशंसा हुने गर्छ ।
तिहारको बेलामा के फुलै फुल्यो,
फुलै र फूल्यो सयपत्री आगंनै रमाइलो
बालन नाच्ने युवा र वृद्धलाई नाच सकेपछि गच्छेअनुसार टीका लगाएर दक्षिणा दिने गरिन्छ । त्यसभन्दा अगाडि घरका सबै सदस्यलाई एकै ठाउँमा राखेर बालनेले आशिष दिन्छन् । आशिषमा सबै देवीदेवता पुकारेर सुख, शान्ति, ऐश्वर्य प्राप्तिको कामना गरिन्छ ।
कला र संस्कृतिको धनी देश भएपनि युवापीढिले आफ्नो मौलिक कला र संस्कृतिको सम्बद्र्धन र संरक्षणमा चासो देखाउन सकिरहेको छैन ।
केही दशक अघिसम्म व्रतपूजा, जात्रामात्रा, मेलापर्वहरूमा अत्यन्त उत्साहका साथ गाउने नाँच्ने गरिने मौलिक नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहादै आएको बालन हाल लोप हुन लागेको छ ।
पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहहरूमा बालनका झलक देखाइने गरे पनि पुरानो पुस्ता नरहनु र नयाँ पुस्ताले सिक्न नखोजेको वा नसिकेकाले पनि बालन लोप हुने अवस्थामा पुगेको हो ।