हात्ति पाइले रोग विरुद्ध मोरंगमा ९ लाखलाई औषधी ख्वाइने
खबर पूर्वाञ्चल
१६ चैत्र २०७३, बुधबार १०:१०
9
Shares
तस्वीर-हात्तिपाइले रोग कार्यक्रमलाई प्रभावकारी बनाउने हेतुले स्वयसेवकहरुलाई मंगलबार मंगलबारे अस्पतालमा तालिम दिइदै ।
गोविन्द पोखरेल
उर्लाबारी,१६ चैत / जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगले यो वर्ष हात्ति पाइले रोग विरुद्धको कार्यक्रममा जिल्लाले ९ लाख ३२ हजार ५ सय ६ जनालाई औषधी ख्वाउने लक्ष्य लिएको जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख चन्द्रदेव मेहेताले अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर चार हजार ६ सय २४ जना स्वयंसेवक र चार सय ९९ जना स्वास्थयकर्मी गरी ५ हजार एक सय २३ जनालाई परिचालन गरिएको जानकारी दिए ।
अभियानलाई प्रभावकारी बनाउनका लागि कार्यालयले प्रमुख जिल्ला अधिकारीको संयोजकमा जिल्ला स्तरीय समन्वय समितिको गठन गरिएको जनाएको छ । समितिमा विभिन्न पार्टीका जिल्ला प्रमुखहरु पनि रहेको मेहेताले जानकारी गराए ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगले यो वर्ष हात्ति पाइले रोग कार्यक्रमको फोकल पर्सनमा भेक्टर कन्ट्रोल अधिकृत मोहमद वासिम मियाँलाई तोकेको छ ।
नेपालका ६१ जिल्लामा हात्ती पाइले रोगको जोखिम देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि सेवन गराउने कार्य सुरु गरेको हो । सन् २०२० सम्म नेपालबाट पूर्णरुपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइ सक्ने लक्ष्य नेपाल सरकारले लिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख मेहेताले जानकारी दिए ।
हात्ति पाइले कार्यक्रमका दुई वटा उद्देश्यहरु रहेको पनि उनले अवगत गराए । रोग फैलनुबाट रोक्नु र विरामीको संख्यामा कमी ल्याई विरामीहरुलाई दीर्घरोग, असक्त र कुरुपता हुनबाट बचाउनु यो कार्यक्रमको उद्देश्य रहेको उनले प्रष्ट्याए । हात्ति पाइले रोग विरुद्धको औषधी डाइइथाइल कार्बामाजाइन र अल्बेन्डाजोल नामक औषधी ख्वाइन्छ ।
मंगलबारे अस्पतालले एक सय ५० जना स्वयसेवक खटाउने
चैत १७ देखि १९ गतेसम्म हुन लागेको हात्ति पाइले रोग विरुद्धको औषधी वितरण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि मंगलबारे अस्पतालले एक सय ५० जना स्वयसेवक खटाउने भएको छ ।
अस्पतालका सिनियर अहेब एवं फोकल पर्सन योगेन्द्र कट्टेलका अनुसार यो वर्ष उर्लाबारी नगर क्षेत्रबाट ४५ हजारलाई हात्ति पाइले रोग विरुद्धको औषधी ख्वाइने लक्ष्य रहेको बताए ।
अभियानलाई प्रभावकारी बनाउनका लागि चैत १४ गतेदेखि १६ गतेसम्म स्वयसेवकहरुलाई तालिम तथा गोष्ठि कार्यक्रम भइरहेको हात्तिपाइले कार्यक्रम अर्का फोकल पर्सन नारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मंगलबारसम्ममा ७५ जना स्वयंसेवकहरुलाई तालिम दिइसेकेको जनाए ।
तालिममा मंगलबारे अस्पतालका प्रमुख डाक्टर त्रिभूवन चन्द्र झा, डाक्टर योगेश मण्डल,फोकल पर्सन योगेन्द्र कट्टेल र नारायण श्रेष्ठले सहजीकरण गरिरेहका छन् ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो वर्ष मंगलबारे अस्पतालले शैक्षिक सस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि तथा अन्य विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधी तथा प्रमुखहरुलाई रोग सम्बन्धि परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो ।
अस्पतालले प्रत्येक टोल टोलमा औषधी ख्वाइने जनाएको छ । क्यूलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्दा मानिसमा ज्वरो आउने,लिम्फ नलीहरु सुन्निने,खुट्टा सुनिएर हात्तिपाइला हुने जस्ता लक्षणहरु देखा पर्ने अस्पतालका प्रमुख डाक्टर झाले बताए ।
जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया)जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले(फाइलेरिया) भएको हुन सक्ने डाक्टर झाले बताए ।
हात्तीपाइले रोग उचेरेचिया ब्रोंगक्राफि परजीविको संक्रमणबाट फैलिने गर्छन । संक्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट संक्रमण फैलिई रोग फैलिन्छ ।