खबर पूर्वाञ्चल
१५ चैत्र २०७३, मंगलवार २२:४०
गोपाल काफ्ले
पथरी, १५ चैत / मोरङको पथरीशनिश्चरे १० स्थित रमणियस्थलका रुपमा रहेको जिरिखिम्तीलाई धार्मिक पर्यटनका हिसावले समेत चिनाउन आजदेखि श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि अधुरो रहेको सिंहदेवी दुर्गा मन्दिर पुरा गर्न, धार्मिक भवन निर्माण र परिसर घेरावाराको सहयोग जुटाउन चैत १५ देखि २३ गतेसम्म हुने महायज्ञको एक कार्यक्रमकाबीच सांसद चण्डीप्रसाद राईले उद्घाटन् गरे ।
प्रमुख अतिथि राईले अन्य टोलका हिसावले जिरिखिम्ती विकासमा पछाडि परेको मनन् गर्दै त्यहाँको धार्मिक पर्यटन सहितको समग्र विकासका लागि आफुले सहयोग पुर्याउनु वचन दिए ।
विहान जिरिखिम्ती, पशुपतिनगर, ऐयावारी क्षेत्रमा कलश यात्रा निकाले पछि कार्यक्रम उद्घाटन् गरिएको थियो ।
उद्घाटन् कार्यक्रममा, मन्दिर समिति अध्यक्ष लक्ष्मण गुरागाई, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईका साथै अर्जुन पोखरेल, मदन पोखरेल, गंगा कटुवाल, दीपेन्द्र दहाल, प्रमुख कथा वाचक पण्डित नवराज पोखरेल सहितले सम्बन्धित निकायले समेत हेपेको प्राकृतिक सुन्दरताले भरिपूर्ण जिरिखिम्तीको विकासमा स्थानीयको यसखाले एकताले गाउँको विकाशमा टेवा पुग्ने समेत विश्वास व्यक्त गरेका छन् ।
३ कठ्ठा क्षेत्रफलमा रहेको सिंहदेवी दुर्गा मन्दिर परिसरमा रहेका रुखहरुका कलात्मक आकृति धार्मिक पर्यटनका लागि महत्वका रहेको महायज्ञ मुल आयोजक समिति संयोजक पुण्यप्रसाद सुवेदीले जनाए ।
बुधबारदेखि कथा वाचन हुने महायज्ञबाट २० लाख रुपैयाँ बराबरको दान संकलन हुने अपेक्षा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?