विराटनगर, ९ चैत / नेपाली कांग्रेस ५ नम्बर क्षेत्रीय समितिको आयोजनामा बिहीबारदेखि सुरु ‘जनताको घरआँगनमा नेता’ अभियान सकिएको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजित अभियान नोचाबाट सुरु भएको थियो । बुधबार भाथिगछमा पुगेर अभियान सम्पन्न भएको कांग्रेसका क्षेत्रीय सभापति दिलीप पोखरेलले जानकारी गराए । यसबीचमा क्षेत्र नम्बर ५ अन्तर्गतका विराटनगरका सबै वडा, पोखरिया, बुधनगर, मझारे, सिसवनीजहदालगायतका विभिन्न स्थानमा कार्यक्रम भए । सबै स्थानका कार्यक्रममा सांसद अमृत अर्याल सहभागी भएका थिए ।
यसअघि पनि कम्तीमा महिनामा एकपटक अर्याल जनताको घरदैलोमा पुग्ने गरेका थिए । “सबै ठाउँमा जनताको उत्साहजनक उपस्थिति रह्यो,” अर्यालले भने, “र, स्थानीय तहको निर्वाचनका विषयमा बढी चासो व्यक्त भएका छन् जनताबाट ।” अभियानले जनतामा राजनीति दल र नेताप्रतिको भरोसा बढाएको क्षेत्रीय सभापति सभापति पोखरेलको दाबी छ ।
अभियानअन्तर्गत बुधनगर र विराटनगर–२० को कार्यक्रममा ७० जनाभन्दा बढी नेकपा एमालेसहितका विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरे । नवप्रवेशीहरूलाई सांसद अर्यालले अविर लगाएर स्वागत गरेका थिए । अभियानअन्तर्गत सञ्चालित अन्तरक्रियामा स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन, विकास निर्माणलगायतका विषयमा सहभागीले चासो राखेका थिए । सांसद अर्यालले तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै तयारी रहन आग्रह गरे ।
यसैबीच, सांसद अर्यालको अग्रसरतामा ३ वर्षमा ५ नम्बर क्षेत्रमा ६० करोडभन्दा बढीका विभिन्न योजनाहरू सञ्चालन भएका छन् । जसमध्ये ८१ योजना सम्पन्न भइसकेका छन् । ३ वटा ठूला योजना कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए । विराटनगर–२२ देखि मझारे–तरिगामासम्मको १३ किलोमिटर सडक कालोपत्र भइरहेको छ । त्यस्तै लोहान्द्रा खोला र जुडीखोलामा पक्की पुल निर्माण जारी छ । सांसद अर्यालका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ७१ वटा योजना सम्पन्न हुनेछ ।
यस्तै जनता आवास कार्यक्रमअन्तर्गत बुधनगर, भाथिगछ, नोचा, पोखरिया, सिसवनीजहदा, मझारे र विराटनगर–२२ मा १ सय ७५ घर निर्माण हुने भएका छन् । सो क्षेत्रका अल्पसंख्यक मुस्लिम, दलित, सन्थाललाई घर निर्माण गरेर जिम्मा लगाइने अर्यालले बताए । हरेक घरको लागत साढे ४ लाख रुपैयाँ पर्नेछ ।
यस्तै बुधनगर–९ कालाबजारको दलित टोलमा पनि १ सय घर निर्माण भइरहेको छ । यी घर एकीकृत आवास योजनाअन्तर्गत निर्माण हुनेछन् । सोही टोलमा २१ लाखको लागतमा एउटा सार्वजनिक शौचालयसमेत निर्माण हुने सांसद अर्यालले जानकारी दिए ।