विराटनगर,६ चैत / मधेसी जनअधिकार फोरम लोकतन्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराउने विषयमा अहिलेसम्म औपचारिक छलफल नभएको बताएका छन ।
विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले कांग्रेस पार्टीमा सहभागी हुन कांग्रेसका नेताहरुले आग्रह गरेको उल्लेख गर्दै औपचारिक छलफल भने नचलेको बताए ।
कांग्रेसलाई बलियो बनाउन कांग्रेसका नेताहरुले पार्टीमा आउन आग्रह गरेको भन्दै अध्यक्ष गच्छदारले यस विषयमा आफूले अहिले केही नसोचेको बताए । कांग्रेसमा प्रवेशको चर्चालाई उनले अखबारले चलाएको बहसको रुपमा चित्रण गरे ।
उनले संविधान संशोधन गरेर भए पनि सबै पक्षलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । गच्छदारले संविधान संशोधनका लागि अझै पनि समय रहेको भन्दै निर्वाचनलाई सार्थक बनाउन असन्तुष्ट पक्षलाई पनि सहभागी बनाउनुपर्ने बताए ।
यथास्थितिमा आफू सरकारमा सहभागी नहुने बताउँदै अध्यक्ष गच्छदारले मधेसी आदिवासी र जनजातिलाई निर्वाचनमा सहभागी गराउने विषयमा टुंगो लगाएर मात्र आफू सरकारमा सहभागी हुने प्रष्ट पारे ।