खबर पूर्वाञ्चल
सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै उनीहरूले विराटनगरमा आज प्रर्दशन गरेका हुन् ।
आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराउँदै प्रर्दशनमा उत्रिएको जेटियुसीसी तथा जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले बताए । हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै छ । श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।
‘सरकारले कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार रुपैयाँ तलब दिएको छ । तर यस्तो कहालीलाग्दो मूल्यवृद्धि र महँगीको अवस्थामा पनि श्रमिकलाई भने मासिक १५ हजार रुपैयाँमात्रै दिएर उसको जीवनयापन कसरी हुन्छ भनेर नसोच्नु गम्भीर छ,’ अध्यक्ष धमलाले भने, ‘विशेषतः अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मूल्यवृद्धिको दाँजोमा अव्यवहारिक पारिश्रमिक दिइएको छ । यसरी मुलुकको उत्पादकत्व वृद्धि हुन सक्दैन, न त देशलाई नै समृद्ध बनाउन सकिन्छ ।’
उनले देशका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकमा एकरुपता ल्याउने गरी मासिक पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ निर्धारण गर्न सरकारलाई दवावपूर्णरुपमा आग्रह गरिएको बताए । ‘नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक २/२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने हुन्छ । यही व्यवस्थाबमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षको आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ,’ उनले भने, ‘हामी सरकारलाई परिस्थिति सुहाउँदो हुने गरी पारिश्रमिक निर्धारण गर्न आग्रह गर्दछौं ।’
श्रमिकहरुको पारिश्रीमक वृद्धी नगरे कोशी प्रदेशमा चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने उनीहरुले चेतवनी समेत दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्रकुमार रायले सम्पूर्ण क्षेत्रको श्रमिकहरुको पारिश्रमिक अविलम्म वृद्धि गरिनुपर्ने बताए । ‘यदी श्रमिकको तलव वृद्धी नगरे आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ उनले भने । जिटियुसीसी कोशी प्रदेशले श्रम डेक्सको स्थापना, श्रमिक पञ्जीकरण, श्रम आयोगको गठनको पनि माग राखेको छ ।
नेपाली काँग्रेस निकट ट्रेड युनियन काँग्रेस कोसी प्रदेशका अध्यक्ष नारायणबाबु कार्की, ट्रेड युनियन काँग्रेस मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट कोसी प्रदेशका अध्यक्ष किशोर धमलाको नेतृत्वमा प्रदर्शन भएको हो । उनीहरुले न्यूनतम ज्याला २५ हजार मासिक हुनु पर्ने माग राखेका छन् ।