८० प्रतिशत बालबालिकामा झाडापखाला र निमोनियाबाट संक्रमण
खबर पूर्वाञ्चल
२ चैत्र २०७३, बुधबार १७:१६
3
Shares
विराटनगर, २ चैत / विराटनगरका स्वास्थ्य संस्थामा उपचारका लागि ल्याइने मध्ये बढी बालबालिकामा झाडापखाला र निमोनियाको संक्रमण देखिन थालेको छ ।
बिरामी भएर उपचारकालागि स्वास्थ्य संस्थाहरुमा ल्याइने मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकामा निमोनिया र झाडापखालाको संक्रमण देखिने गरेको हो । कोसी अञ्चल अस्पताल विराटनगरका बरिष्ठ बाल रोग विशेषज्ञ डा. विमल अग्रवालका अनुसार एक साता यता निमोनिया र झाडापखालाका कारण बिरामी भएर उपचारका लागि ल्याइने पाँच वर्ष मुनिका बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।
अस्पतालको ओपीडीमा दैनिक ८० जना सम्म पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि ल्याउने गरिन्छ । ती मध्ये अधिकांश झाडापखाला र निमोनियाका कारण बिरामी पर्ने गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अन्यमा सामान्य ज्वरो, रुघाखोकीको समस्या देखिने गरेको छ । दैनिक २५ जना भन्दा बढीमा झाडापखाला र ४० जना भन्दा बढीमा निमोनियाको संक्रमण भेटिने गरेको हो ।
यस अघि दैनिक पाँच देखि १० जनामा मात्र यस्तो समस्या देखिने गरेको थियो । विराटनगरका अन्य स्वास्थ्य संस्था र निजी क्लिनिकहरुमा पनि बिरामी भएर उपचारका लागि लगिने मध्ये अधिकांस बालबालिकामा यही समस्या देखिन थालेको जानकारी स्वास्थ्य संस्थाहरुले दिएका छन् । ‘बालबालिकामा झाडापखाला र निमोनियाको समस्या बढी मात्रामा देखिन थालेको छ,’ डा. अग्रवालले भने, ‘बेलैमा सचेत भएर उपचार नगरिए ज्यानै पनि जान सक्छ ।’
सामान्य अवस्थामा भन्दा बालबालिकामा अहिले देखिएको समस्या अलि जटिल रहेको अग्रवालको भनाइ छ । मौसम परिवर्तन, चाडपर्वमा खानपान र सरसफाईमा ध्यान नदिनु मुख्य कारण रहेको उनले जानकारी दिए ।