विराटनगर, चैत १ गते / डिभिजन सहकारी कार्यालय मोरङको आयोजना र सहभागी सहकारी संस्थाहरूको सहआयोजनामा मङ्गलबार विराटनगरमा ‘एकहप्ते सहभागितात्मक सहकारी लेखापालन तालिम’ शुरु भएको छ ।
सहकारी संस्थाहरूमा राखिने लेखापालनलाई व्यवस्थित, पारदर्शी लेखापद्दतिसंगत बनाउने ध्येयका साथ तालिमको आयोजना गरिएको सहकारी अधिकृत रामप्रसाद चापागाईँले जानकारी दिए ।
डिभिजनको आफ्नै हलमा आयोजित तालिमका प्रशिक्षकहरूमा सहकारी अधिकृत रामप्रसाद चापागाईँ तथा सहकारी लेखा प्रशिक्षकद्वय तोया तिम्सिना र रमेश घिमिरे रहरेका थिए ।
चैत ६ गते सम्म हुने तालिममा दोहोरो लेखा प्रणालीको सैद्धान्तिक जानकारी एवं प्रयोगात्मक अभ्यासका साथै सहकारीका चार खाता र सहायक खाताको प्रयोग, सङ्केत नम्बरको परिचय, नाफानोक्सान खाता, सन्तुलन परीक्षण, व्याज गणना विधि र पल्र्स सम्बन्धी जानकारी गराइने प्रशिक्षक तोया तिम्सिनाले बताए ।
तालिममा जिल्लाका विभिन्न सहकारी संस्थाहरूका २१ जनाको सहभागिता रहेको छ ।
त्यसैगरी मोरङमा चैत २० गते ६० औं सहकारी दिवस भव्यताका साथ मनाइने भएको छ । त्यसका लागि मंगलबार नै जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
‘दिगो विकास लक्ष प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारा तय गरिएको यस वर्षको सहकारी दिवसको कार्यक्रम कोशी हरैंचा नगरपालिकास्थित विराटचोकमा तय गरिएको प्रचार विभाग संयोजक माधव अधिकारीले जानकारी दिए ।