विराटनगर, २२ फागुन / विराटनगर उपमहानगरापालिको नगर क्षेत्रमा भइरहेको विकास निमार्णमा नगरबासीहरुले मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तरगत भइरहेको सडक र नाला निर्माणको काम अव्यवस्थित भएको गुनसो गरेका छन् ।
विराटनगर उपमहानगरपालिकाले आज सोमबार आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा नगरबासीहरुले यस्तो गुनसो गरेका हुन । विराटनगरै धुलाम्मे हुनेगरी परियोजनाको काम गरिएको भन्दै उनीहरुले आलोचना गरका थिए ।
अघिल्लो पटकको प्रतिवद्धता अनुरुप नाला सफा नभएको, ऐलानी जग्गाको संरक्षण नभएको, धारामा पानी नआएको नगरबासीले गुनासो गरेका थिए ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले वडाबाट सिफारिस भएर आएका सवै योजना स्वीकृत गरेर नगरपरिषद्बाट पारित गरिएको जानकारी दिए । उनले अघिल्लो सार्वजनिक सुनुवाईमा आएका गुनासोका आधारमा सडकबत्तिको समस्यालाई सुधार गरिएको जानकारी दिए ।
वैकल्पीक सडक वत्तीका रुपमा सौर्य सडक वत्ती जडानका लागि २ करोड रुपैंया खर्च गर्न लागेको पनि उनले जानकारी दिए । कार्यकारी अधिकृत कोइरालाले उपमहानगरपालिका क्षेत्रमा ढल व्यवस्थापनका लागि पौने ३ करोडको लागतमा २ बर्षभित्र काम सक्ने गरी नयाँ परियोजना सञ्चालनको तयारी भइरहेको बताए ।
नगरपालिकाले आफ्नै सभाहलमा सार्वजनिक सुनुवाई गरिएपनि नगरबासीको सहभागीता मुस्किलले ८० नाघेकोको थियो । कार्यक्रममा राजनीतिक दलका नगरस्तरीय संयन्त्रका प्रतिनिधीहरुको समेत उपस्थित थिएन् ।
उपमहानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले योजना तर्जुमादेखि योजना कार्यन्वयन, अनुगमन र मुल्याकंनबारे नगरबासीहरुसंग दोहोरो संवाद गर्न सार्वजनिक सुनुवाई आयोजना गरिएको बताए ।