जनताबाहेक अरू कसैको आदेश एमालेले मान्दैन – अध्यक्ष ओली
खबर पूर्वाञ्चल
२१ फाल्गुन २०७३, शनिबार १६:१८
3
Shares
झापा, २१ फागुन / नेकपा एमालेले झापाको काँकडभिट्टाबाट आजदेखि जन शक्ति प्रदर्शन सुरु गरेको छ ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् ।
अध्यक्ष ओलीले संविधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने बताए छन् । मेची महाकाली अभियानमा कसैले अवरोध गर्न खोज्नेलाई हटाउँदै अघि बढ्ने ओलीले चेतावनी दिएका छन् ।
अध्यक्ष आलीले भने, “एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य छैन ।”
उनले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने बताए ।
पार्टीका महासचिव ईश्वर पोखरेलले सार्वभौमसत्ता र राष्ट्रियताका पक्षमा अभियान थालिएको भन्दै यो कुनै जाति र दलको विरोधमा नभएको उल्लेख गरे । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको बताए ।
वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सत्यनारायण मण्डल लगायतका नेताको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको प्रदेश नं का संयोजक भीमप्रसाद आचार्यलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरी अध्यक्ष ओलीले अभियानको शुभारम्भ गरेका थिए ।
काँडकभिट्टामा शनिबार बिहान आयोजित मेची महाकाली राष्ट्रिय अभियानको उदघाटनमा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएका थियो ।