RUMPUM
animated ellipse animated ellipse

स्ववियु निर्वाचनको आधिकारिक नतिजाः कुन क्याम्पसमा कसले जिते ? (सूचीसहित) अखिलको झिनो अग्रता, राप्रपा चौथो र संघीय समाजवादी पाँचौ स्थानमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७३, बिहीबार २०:३४
3
Shares
 काठमाडौं,१९ फागुन/ त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा फागुन १८ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । उपत्यकासहित अधिकांश ठूला क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण चुनाव हुन सकेको छैन ।
पछिल्लो परिणाम अनुसार एमाले सम्बद्ध अनेरास्ववियु पहिलो, नेपाली कांग्रेस सम्बद्ध नेविसंघ दोस्रो र माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी प्रचण्ड तेस्रो स्थानका साथ बिजयी भएका छन् । चौथो स्थानमा राप्रपा निकट राप्रविसंघ आएको छ भने संघीय समाजवादी फोरमको विद्यार्थी संगठनले पनि धरानमा खाता खोलेको छ ।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ का बिभिन्न जिल्लाको आधिकारिक निर्वाचन परिणाम संकलन गर्न अनलाइनखबरकर्मी धु्रव भट्टराई र गौरव पोखरेल खटिएका थिए । १ नम्बर प्रदेशमा चुनाव भएका क्याम्पसहरुको निर्वाचन परिणाम यस्तो छ ।
ताप्लेजुङ-तेह्रथुममा नेविसंघ, इलाममा अखिल
इलामका ठूला क्याम्पस महेन्द्र बहुमुखी लगायतमा चुनाव हुन सकेको छैन । चुनाव भएको एउटामात्र एकरुप्पा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जितेको छ । पराजित भएको अखिल क्रान्तिकारीले निर्वाचन परिणामप्रति असहमति जनाउँदै विज्ञप्ति निकालेको छ ।
त्यस्तै ताप्लेजुङको एकमात्र पाथिभरा बहुमुखी क्याम्पसमा नेविसंघले जित हासिल गरेको छ । त्यस्तै तेह्रथुमका दुई क्याम्पसमा चुनाव भएकोमा दुवै क्याम्पसमा नेविसंघका उम्मेदवार जितेका छन् ।
पाँचथर र खोटाङमा अखिल
पाँचथरको यासोक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जितेको छ । त्यस्तै खोटाङ सदरमुकामको खोटाङ क्याम्पसमा अनेरास्ववियुकी शन्तोषी फुयालको प्यानल जितेको छ । खोटाङको सिमपानी बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुका रोशन पोखरेलको प्यानल बिजयी भएको छ ।
धनकुटामा अखिल अगाडि, सोलुमा नेविसंघ
धनकुटाका चार क्याम्पसमा स्ववियु चुनाव भएको छ । जसमध्ये अनेरास्ववियुले पाखि्रबास, हिले र जितपुर बहुमुखी क्याम्पसमा विजय हासिल गरेको छ । भाषा क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ ।
सोलुखुम्बु जिल्लाका तीनओटै क्याम्पसमा नेविसंघले जितेको छ । सोलुखुम्बु बहुमुखी, र हिमाल दर्शन क्याम्पसमा नेविसंघको प्यानल जितेको छ भने सोताङमा नेविसंघ र अखिलको संयुक्त प्यानल विजयी भएको छ ।
झापाः नेविसंघको अग्रता
झापा जिल्लामा बुधबार चुनाव भएका ९ क्याम्पसमध्ये ८ ओटाको निर्वाचन परिणाम आएको छ भने मेची बहुमुखी क्याम्पसमा मतगणना भएको छैन । गणना भएका ८ मध्ये ५ क्याम्पसमा नेविसंघले जितेको छ भने दुईओटामा अनेरास्ववियु र एउटामा अखिल क्रान्तिकारी प्रचण्डले जितेको छ ।
काँकडाभिट्टा बहुमुखी क्याम्पस, गौरीगन्ज बहुमुखी क्याम्पस, दुर्गा क्याम्पस गरामनी र दमक बहमुखी क्याम्पसमा नेविसंघले जितेको छ । त्यस्तै गौरादह क्याम्पस र त्रिदेव क्याम्पस चारआलीमा अनेरास्ववियु बिजयी भएको छ भने देवी क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ ।
सुनसरीः संघीय समाजवादीलाई सफलता
सुनसरीको चर्चित महेन्द्र बहुमुखी क्याम्पसमा संघीय समाजवादी फोरम निकट विद्यार्थी युनियनले सभापति जितेको छ । त्यस्तै सप्तकोशी बहुमुखी क्याम्पसमा नेविसंघले जितेको छ । हात्तिसार क्याम्पस र पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा मतगणना सकिएको छैन ।
मोरङमा नेविसंघको अग्रता
मोरङका ठूला क्याम्पस महेन्द्र मोरङ र डिग्री लगायतमा चुनाव हुन सकेको छैन । चुनाव भएका क्याम्पस मध्ये लेटाङ र पथरी बहुमुखी क्याम्पसमा नेविसंघले जितेको छ । उर्लाबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जितेका छ ।
सुकुना बहुमुखी क्याम्पसमा मतगणना जारी छ । उदयपुरको त्रियुगा क्यामपसमा पनि नेविसंघले जितेको छ ।
भोजपुर र संखुवासभामा अखिल
संखुवासभाका चारओटै क्याम्पसको निर्वाचन परिणाम अनेरास्ववियुको पक्षमा गएको छ । जिल्लाका मादी बहुमुखी, चैनपुर बहुमुखी, वरुण क्याम्पस र खाँदबारी क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको अनलाइनखबरकर्मीले जनाएका छन् ।
भोजपुर सदरमुकामस्थित जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी पढ्ने भोजपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जितेको छ । अनेरास्ववियुका प्रकाश राईले नेविसंघ र अखिल क्रान्तिकारीलाई पराजित गरेका हुन् ।
प्रदेश नम्बर २
प्रदेश नम्बर २ अन्तर्गत अधिकांस क्याम्पसमा मधेसी मोर्चा आबद्ध विद्यार्थीहरुको तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन ।
रौतहटः गौरमा अखिल, चपुरमा नेविसंघ
रौतहटका दुई क्याम्पसमा चुनाव भएको छ । जनज्योति सामुदायिक क्याम्पस चन्द्रनिगाहपूरमा नेविसंघले जितेको छ । उता मधेस आन्दोलनको केन्द्र बनेको गौरस्थित गौरीशंकर यादव रौतहट क्याम्पसमा भने अनेरास्ववियुले चुनाव जितेको छ ।
सर्लाही अखिल, पर्सा नेविसंघ
त्यस्तै पर्सामा नर्सिङ क्याम्पसमा मात्र निर्वाचन भएको छ । लामो समयदेखि अनेरास्ववियुले जित्दै आएको वीरगन्ज नर्सिङ क्याम्पसमा यसपटक नेविसंघले जितेको छ ।
सर्लाहीमा दुई ओटा क्याम्पसमा चुनाव भएकोमा दुवैमा अनेरास्ववियुले जितेको छ । लालबन्दीको सुकेपोखरी र हरिवन दुवै क्याम्पसमा अखिलले जितेको हेा ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ अन्तर्गत उपत्यकाका अधिकांश ठूला क्याम्पसमा चुनाव हुन सकेन । चुनाव भएकामध्ये उपत्यकामा अखिल र अखिल क्रान्तिकारीले जितेका छन् ।
काठमाडौं: अखिलको अग्रता
काठमाडौं जिल्लाभित्र रहेका क्याम्पस मध्ये चारमा अनेरास्ववियु र एकमा अखिल क्रान्तिकारीले जितेका छन् । केन्द्रीय चिकित्स शास्त्र क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस महाराजगन्जमा अनेरास्ववियुले जितेको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा पनि अखिल विजयी भएको छ ।
त्यस्तै काठमाडौं इन्जिनियरिङ क्याम्पस कालिमाटी र काठमाडौं शिक्षा क्याम्पस कुलेश्वरमा अनेरास्ववियुले जितेको छ भने थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्ड प्यानल विजयी भएको छ । नेविसंघले जनप्रशासन क्याम्पसमा जित हासिल गरेको छ ।
ललितपुरः अखिल क्रान्तिकारी अगाडि
ललितपुरमा भएका तीन क्याम्पसको चुनावी नतिजा अखिल क्रान्तिकारी प्रचण्ड प्यानलको पक्षमा गएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारी बिजयी भएको छ । त्यस्तै महालक्ष्मी क्याम्पस लुभुमा पनि क्रान्तिकारी बिजयी भएको छ ।
उता एड्भान्स इन्जिनियरिङ कलेजमा भने अनेरास्ववियुले जितेको छ । सगरमाथा इन्जिनियरिङ कलेजमा नेविसंघले जितेको छ ।
भक्तपुरमा क्रान्तिकारी र नेविसंघ
भक्तपुर जिल्लाका दुई क्याम्पसमा भएको चुनावमा सानोठिमीमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट क्रान्तिकारीका सभापति निर्वाचित भएका छन् । त्यस्तै भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ नेमकिपाको संयुक्त प्यानलबाट नेक्राविसंघका सभापति निर्वाचित भएका छन् ।
मकवानपुरः अनेरास्ववियु अगाडि
मकवानपुरका सातवटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा तीन क्याम्पसमा अनेरास्ववियुले जितेको छ । अनेरास्ववियुले मनहरी बहमुखी, निर्मल बहुमुखी र हेडौंटा क्याम्पसमा बिजय हासिल गरेको छ । त्यस्तै पालुङ बहुमुखीमा अखिल क्रान्तिकारीको संयुक्त प्यानलले जितेको छ ।
वन विज्ञान अध्ययन संस्थान हेटौंडामा नेविसंघको प्यानल जितेको छ भने वंशगोपाल क्याम्पस चौघडामा राप्रपाको विद्यार्थी संगठन नेतृत्वको संयुक्त प्यानलले अनेरास्ववियुलाई हराएको छ ।
सिन्धुलीः ५ मध्ये ४ मा अनेरास्ववियु
सिन्धुली जिल्लाका पाँच क्याम्पसहरुमा भएको स्ववियू निर्वाचनमा अनेरास्ववियु चार स्थानमा विजयी भएको छ भने एउटा क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्ड प्यानल बिजयी भएको छ । जिल्लाको सबैभन्दा ठूलो गौमति क्यामपसमा अखिलको प्यानल जितेको छ ।
त्यस्तै शिद्धज्योती शिक्षा क्याम्पस, सिर्थौलीस्थित डकाह क्याम्पस र खुर्कोटस्थित भिमज्योति क्याम्पसमा जित हात पारेको अनेरास्ववियु सिन्धुलीका जिल्ला अध्यक्ष गोकर्ण भुजेलले जानकारी दिए ।
लाम्पानटार बहुमुखी क्याम्पसमा भने नेकपा (माओवादी केन्द्र) निकट अखिल-क्रान्तीकारी)का विमलकुमार रमौलीको नेतृत्वमा अनेरास्ववियु क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल विजयी भएका छन् ।
रामेछापमा अनेरास्ववियु
रामेछापको सबैभन्दा ठूलो क्याम्पस शहीद स्मृति बहुमुखी क्याम्पस मन्थलीको निर्वाचनमा अनेरास्ववियु निर्वाचित भएको छ । यसअघि नेविसंघले जित्दै आएको थियो । अखिलका कपिल मगर सभापतिमा निर्वाचित भएका छन् । रामेछापका अन्य क्याम्पसमा चुनाव भएको छैन ।
सिन्धुपाल्चोकमा त्रिपक्षीय नतिजा
सिन्धुपाल्चोकका ८ ओटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा प्रमुख तीन संगठनले करीव उस्तै उस्तै नतिजाँ बाँडेका छन् । अरनिको क्याम्पस, ककलिङ सामुदायिक र ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघले जितेको छ ।
त्यस्तै जलविरे भ्याली क्याम्पस, सुनकोशी क्याम्पस खाडीचौर र इन्द्रावती क्याम्पस मेलम्चीमा अनेरास्ववियुले जितेको छ । अखिल क्रान्तिकारी प्रचण्ड प्यानल जुगल सामुदायक क्याम्पस साँगाचोक र चौतारा बहुमुखी क्याम्पसमा बिजयी भएको छ ।
दोलखाः अखिल र क्रान्तिकारी
दोलखाका चार क्याम्पसमा भएको निर्वाचनमा एउटा विवादित बनेको छ । विवादित प्रताप स्मृति क्याम्पस सिँगटीमा अनेरास्ववियु र अखिल क्रान्तिकारी संयुक्त प्यानल दुवैले आ-आफ्नो जित दावी गरेका छन् ।
झडपका कारण त्यहाँ निर्वाचन विवादित बनेको हो । यद्यपि अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल बिजयी भएको घेाषणा गरिएको छ ।
त्रिपुरा सामुदायिक क्याम्पस मैनापोखरीमा अखिल क्रान्तिकारी बिजयी भएको छ । त्यस्तै हनुमन्तेश्वर बहुमुखी क्याम्पस र जिरी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
नुवाकोटमा नेविसंघ, धादिङमा मिश्रति
नुवाकोटको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ । धादिङमा ६ ओटा क्याम्पसमा निर्वाचन भएकोमा नेविसंघले ३ ओटामा बिजय हासिल गरेको छ । मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोला, चन्द्रोदय बहुमुखी क्याम्पस बेनिघाट र निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेसीमा नेविसंघले जितेको छ ।
त्यस्तै अनेरास्ववियुले आदर्श बहुमुखी क्याम्पस गजुरी, बागेश्वरी क्याम्पस बैरेनीमा अनेरास्ववियुले जितेको छ । अखिल क्रान्तिकारीले नेत्रावती सामुदायिक क्याम्पसमा जित हासिल गरेको छ ।
काभ्रेः अखिलको अग्रता
काभ्रेपलान्चोक जिल्लाका १२ क्याम्पसमा निर्वाचन भएको छ । ती मध्ये अनेरास्ववियुले ५ ओटा क्याम्पसमा जितेको छ । कुशादेवी क्याम्पस,जनक क्याम्पस,धुलिखेल सन्जिवनी क्याम्पस,डेडिथुम्का क्याम्स र कानपुर क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
त्यस्तै प्रभा क्याम्पस कात्तिकेमामा अखिल क्रान्तिकारीले जितेको छ । चैतन्य क्याम्पस,सर्वमंगला क्याम्पसमा नेविसंघको संयुक्त प्यानल विजयी भएको छ ।
प्रदेश नम्बर ४
कास्कीः ४ मा २ नेविसंघ
कास्कीका ४ क्याम्पसमा भएको निर्वाचनमा नेविसंघले २ ओटामा जितेको छ । नेविसंघले बिन्दवासिनी र नर्सिङ क्याम्पसमा प्यानलै जितेको छ । वन विज्ञान अध्ययन संस्थान पोखरामा अनेरास्ववियुले जितेको छ भने जनपि्रय क्याम्पसमा नेविसंघ र नयाँ शक्ति विद्यार्थीको संयुक्त प्यानलले जितेको छ ।
पर्वत र बाग्लुङ नेविसंघः म्याग्दीमा अखिल
धवलागिरी अन्चलका तीन जिल्ला बाग्लुङ, पर्वत र म्याग्दीमा मिश्रति परिणाम आएको छ । पर्वतके गुप्तेश्वर क्याम्पसमा नेविसंघले जितेको छ । अन्नपूर्ण क्याम्पस पर्वतमा अनेरास्ववियुले जितेको छ । त्यस्तै बाग्लुङको धौलागिरी बहुमुखी क्याम्पसमा पनि नेविसंघले जितेको छ ।
म्याग्दीका दुवै क्याम्पसमा अनेरास्ववियुका महिला सभापति उम्मेदवारले जितेका छन् । म्याग्दी बहुमुखी क्याम्पस बेनीमा सावित्रा खत्री र मंगला शिक्षा क्याम्पस बाबियाचौरमा अनिशा भट्टराईले जितेका हुन् ।
स्याङ्जामा हार्नेको आत्महत्या
स्यांजाको त्रिभुवन आदर्श क्याम्पस र गल्याङ क्याम्पसमा नेविसंघले जितेको छ । सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुका प्रतिष्ठा कार्कीले जित्दा उनीसँग पराजित नेविसंघकी रिमा क्षेत्रीले आत्महत्या गरेको समाचार आएको छ । स्याङजाकै मिर्मी बहुमुखीमा अनेरास्ववियुले जितेको छ ।
त्यस्तै तनहुँमा आदिकवि भानुभक्त क्याम्पस र आँबु खैरेनी क्याम्पसमा नेविसंघले जितेको छ भने भिमादमा अनेरास्ववियुले जितेको छ । त्यस्तै मुस्ताङको जनहित बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुका रविन गुरुङको प्यानल विजयी भएको छ । लम्जुङमा २ क्याम्पस नेविसंघ र एउटामा अनेरास्ववियुले जितेका छन् । अखिलले मस्र्याङ्दी क्याम्पस जितेको हो भने नेविसंघले मंगला र मातृभूमि क्याम्पसमा नेविसंघले जितेको छ ।
प्रदेश नम्बर ५
५ नम्बर प्रदेश अन्तर्गत बुटवल बहुमुखी, भैरहवा, पक्लिहवा रुपन्देही, महेन्द्र बहुमुखी नेपालगञ्ज, महेन्द्र क्याम्पस दाङ लगायत ठूला क्याम्पसमा चुनाव हुन सकेको छैन । चुनाव भएका क्याम्पसहरुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीच प्रतिस्पर्धा देखिएको छ ।
रुपन्देहीः नेविसंघ, अखिल बराबर
रुपन्देहीका ठूला क्याम्पसमा चुनाव हुन सकेको छैन । चुनाव भएका ४ क्याम्पसमध्ये दुईमा नेविसंघ र दुईमा अनेरास्ववियुले जितेका छन् । अनलाइनखबरकर्मी सलमान खानका अनुसार हरैया वहमुखी क्याम्पसमा नेविसंघका प्रकाश पौडेल र शरस्वती संस्कृत विद्यापीठमा नेविसंघकै विष्णु पौडेलले जितेका छन् ।
त्यस्तै देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कृष्ण पौडेल र दूधानाथ थारु बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै शम्भु थारु बिजयी भएका छन् ।
कपिलबस्तुः राप्रविसंघको अग्रता
देशभरीकै स्ववियु चुनावको नतिजा आइरहँदा राप्रपाको भातृ संगठन राप्रविसंघले कपिलवस्तुमा राहत पाएको छ । चुनाव भएका चार मध्ये दुई क्याम्पसमा राप्रविसंघका उम्मेदवार बिजयी भएका छन् । नेपाल आदर्श बहुमुखी क्याम्पसमा रजत गुप्ता र समइथान बहुमुखीमा बासुदेव केसी राप्रपाबाट जितेका सभापति हुन् ।
त्यस्तै बाणगंगा बहुमुखी क्याम्पसमा नेविसंघका माधव पौडेल सभापतिमा निर्वाचित भएका छन् भने सिद्धार्थ बहुमुखी क्याम्प्समा अनेरास्ववियुका सुशील खत्री बिजयी भएका छन् ।
बाँकेः अखिल नेविसंघ बराबर
बाँके जिल्लाका ४ क्याम्पसमा भएको स्ववियु निर्वाचनको परिणाम अनेरास्ववियु र नेविसंघको पक्षमा बराबरी गएको छ । अनेरास्ववियुले नेपालगन्ज नर्सिङ क्याम्पस, बागेश्वरी बहुमुखी क्याम्प्स कोहलपुरमा जित हासिल गरेको छ ।
त्यस्तै नेविसंघले जनसिद्धेश्वर क्याम्पस फत्तेपुर र ज्ञानोदय क्याम्पस खजुरामा जित हासिल गरेको छ । नेपालगन्जकै सबैभन्दा ठूलो महेन्द्र बहुमुखी क्याम्पसमा चुनाव हुन सकेको छैन ।
बर्दियाः नेविसंघको अग्रता
बर्दिया जिल्लामा ६ ओटा क्याम्पसमा भएको निर्वाचन परिणाम नेविसंघको पक्षमा गएको छ । नेविसंघले जुरे क्याम्पस बग्नाहा, बर्दिया बहुमुखी, शारदा बहुमुखी मैनापोखर र दशरथ चन्द बहुमुखी क्याम्पस राजापुरमा बिजय हासिल गरेको छ ।
त्यस्तै मनुष टिका सिंह बहुमुखी क्याम्पस बर्दियामा अनेरास्ववियुको प्यानल बिजयी भएको छ । गुराँस बहुमुखी क्याम्पस तारातालमा अखिल क्रान्तिकारी प्रचण्ड समूहले जितेको छ ।
परासीमा मिश्रति, पाल्पामा अखिल
नवलपरासीका दुईओटा क्याम्पसमा निर्वाचन भएकोमा दिपज्योति बहुमुखी क्याम्पसमा अनेरास्वविुका प्रकाश पाण्डे बिजयी भएका छन् । त्यस्तै देवकोटा बहुमुखी क्याम्पसमा नेविसंघका शिशिर चापागाई बिजयी भएका छन् ।
पाल्पामा दुई क्याम्पसमा निर्वाचन भएकोमा दुवैमा सहमतिका आधारमा निर्वाचन भएको छ । माण्डव्य बहुमुखी क्याम्पस र उदबुद्ध बहुमुखी क्याम्पसमा अखिलका सभापति निर्वाचित भएका छन् ।
गुल्मीमा अखिल अग्रता, अर्घाखाँचीमा मिश्रित
गुल्मीकै ठूलो रेसुङ्गा बहुमुखी क्याम्पसमा विहिवार अपरान्ह सकिएको मतगणनामा अनेरास्ववियुका श्रीराम महत सभापतिमा बिजयी भएका छन् । त्यस्तै शान्तिपुर बहुमुखी,रिडी बहुमुखी र धुर्कोट परमानन्दब बहुमुखी क्याम्पसमा अनेरास्ववियुका आशा गौतम,रामप्रसाद पोखरेल र शीतल थापा सभापति निर्वाचित भएका छन् ।
गुल्मीकै श्रीनेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र शरस्वती संसकृति विद्यापीठमा नेविसंघले बिजय हासिल गरेका छन् । त्यस्तै अर्घाखाँचसीको पाणिनी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्ड प्यानल निर्वाचित भएको छ । जिल्लाको अर्को ज्योति बहुमुखी क्याम्पसमा नेविसंघले जितेको छ ।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ अन्तर्गतका बिभिन्न जिल्लामा भएको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
सुर्खेतः अखिलको अग्रता
सुर्खेत जिल्लाका चारओटा क्याम्पसमा निर्वाचन भएकोमा दुईमा अनेरास्ववियुले जितेको छ भने नेविसंघ र अखिल क्रान्तिकारीले एक एकओटा क्याम्पसमा जित हासिल गरेका छन् । अमरदिप क्याम्पस वीरेन्द्रनगर र हिमशिखर बहुमुखी क्याम्पसमा अखिलले जितेको छ ।
त्यस्तै जनता बहुमुखी क्याम्पस विद्यापुरमा नेविसंघले जितेको छ । भेरि शिक्षा क्याम्पस गुमीमा अखिल क्रान्तिकारी प्रचण्ड प्यानल बिजयी भएको छ । जिल्लाको सुर्खेत क्याम्पसमा चुनाव हुन सकेको छैन ।
दैलेखमा अखिल, कालिकोटमा मिश्रित
दैलेख जिल्लामा निर्वाचन भएका दुवै क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियुले जितेको छ । अनलाइनखकर्मीका अनुसार द्रोणान्चल क्याम्पस दुल्लू र नारायण क्याम्पस दैलेखमा अनेरास्ववियुको प्यानल बिजयी भएको हेा । उता कालिकोटको तिला बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले जित हासिल गरेको छ । कर्णाली बहुमुखी कालिकोटमा नेविसंघ र जनचेतना बहुमुखीमा अनेरास्ववियुले जितेको छ ।
सल्यानमा भागबण्डा
सल्यानका ७ ओटा क्याम्पस मध्ये अखिल क्रान्तिकारी र नेविसंघले तीन तीनओटा क्याम्पसमा जितेका छन् भने अनेरास्ववियुले एउटा क्याम्पसमा जितेको छ । क्रान्तिकारीले शिवजञ्ग क्याम्पस, बनगाड क्याम्पस फारुला क्याम्पसमा सभापति भएको छ ।
नेविसंघले कपुरकोट क्याम्पसमा जितेको छ भने अनेरास्ववियुले सल्यान बहुमुखी क्याम्पसमा जितेको छ । यी सबै क्याम्पसमा सहमतिका आधारमा स्ववियु बाँडिएको हो । सल्यान बहुमुखी क्याम्पस सबैभन्दा धेरै विद्यार्थी पढ्ने भएकाले अखिललाई एउटामात्र दिइएको हो ।
रुकुममा क्रान्तिकारी
रुकुमका ३ क्याम्पसमध्ये अखिल क्रान्तिकारीले राडिज्यूला शिक्षा क्याम्पस र मुसिकोट खलंगा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीले जितेको छ । मुसिकोटमा सबै संगठनले सहमतिमा निर्विरोध निर्वाचन गरेका हुन् ।
रुकुमबाट मनिष खड्काले जनाए अनुसार जिल्लाका ४ ओटा क्याम्पसमा यसअघि नै अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित भैसकेको छ भने शितल क्याम्पस चौरजहारीमा सहमतिमा अनेरास्ववियुलाई नेतृत्व दिइएको हो । त्यस्तै रोल्पाको नवनेपाल क्याम्पसमा अखिल क्रान्तिकारी बिजयी भएको छ ।
प्रदेश नम्बर ७
प्रदेश नम्बर ७ का बिभिन्न जिल्लाहरुमा भएको निर्वाचन परिणाम आउने क्रम जारी छ ।
बझाङः अखिल ५, क्रान्तिकारी १
बझाङ जिल्लाका ६ ओटा क्याम्पसमा निर्वाचन भएकोमा ५ ओटामा अनेरास्ववियु र एउटा क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल बिजयी भएको छ ।
जिल्लाका शान्ति आर्दश,सुनकुडा,त्रिवेणी आदर्श,सेती र बझाङ दीप क्याम्पसमा अनेरास्ववियुको प्यानल जितेको छ । त्यस्तै जयवृथ्वी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलबाट क्रान्तिकारीले सभापति जितेको छ ।
कैलाली र दार्चुलामा मिश्रित
कैलालीको फुलबारी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जितेको छ । त्यस्तै खप्तड बहुमुखी र वीरेन्द्र विद्या मन्दिरमा नेविसंघले जितेको छ । दार्चुला क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलले अखिललाई परास्त गरेको छ । जिल्लाका अन्य तीनमध्ये एकमा अनेरास्ववियु, एकमा नेविसंघ र एकमा अखिल क्रान्तिकारीले जितेका छन् ।
अछाम, बाजुरा र बैतडीमा प्रतिस्पर्धा
अछामको त्रिपुरा सुन्दरी क्याम्पसमा नेविसंघले जितेको छ । बाजुराको एकमात्र क्याम्पस बाजुरा बहुमुखीमा अनेरास्ववियुका चेतन ऐडीको प्यानल बिजयी भएको छ । त्यस्तै बैतडीको जगन्नाथ,मेलौनी र गोकुलेश्वर क्याम्पसमा नेविसंघले जितेको छ भने पाटनमा अनेरास्ववियुले जितेको छ । डडेलधुराको शिक्षा क्याम्पसमा नेविसंघले जितेको छ ।अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर