खबर पूर्वाञ्चल
उपचारका क्रममा एक जनाको विराटनगरस्थित कोशी अस्पताल र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने आज बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।
विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको उनको साँझ ७ः३० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजकसमेत रहेका डा. यादवले बताए ।
स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । यादवका अनुसार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर महानगरपालिका–११ घर भएकी ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
संक्रमित महिलामा पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको थियो । महिलामा चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको डा. सापकोटाले बताए ।
स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।
डा. सापकोटाले मृतकको शवको व्यवस्थापन नियम अनुसार गरिने जानकारी दिए । हालसम्म प्रतिष्ठानमा उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
तपाईको प्रतिक्रिया