१५ फागुन, झापा /संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् ।
‘सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो’, संघीय प्रेस फोरमले झापामा आज गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाए ।
अध्यक्ष यादवले सरकारले स्थानीय तहको निर्वाचन जबर्जस्ती गर्न खोज्यो भने संघीयता धरापमा पर्ने चेतावनी पनि दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै ‘सहमति कार्यान्वयनमा चासो नदेखाइएका’ कारण सरकारलाई मोर्चाले दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाइने बताए ।