चेक हस्तान्तरण गर्दै बस्नेत (बायाँ) । तस्बिर-अर्जुन आचार्य
विराटनगर, १५ फागुन / नेपाल पत्रकार महासंघ मोरङअन्तर्गत रहने गरी षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार स्थापना भएको छ ।
प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवस चैत १६ गते प्रदान गरिने पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।
विराटनगर–१५ का केदारबहादुर बस्नेतले श्रीमती षष्टिका बस्नेतको स्मृतिमा नेपाल पत्रकार महासंघमार्फत आइतबार पुरस्कारका लागि आवश्यक रकम हस्तान्तरण गरेका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाता केदारबहादुुर बस्नेतले सूचनाको अधिकार कार्यान्वयनका लागि सहयोग पुग्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए ।
‘सूचनाको हक कार्यान्वयन भए भ्रष्टाचार हट्छ र देश समृद्धितिर जान्छ,’ बस्नेतले भने, ‘जतिसुकै उत्कृष्ट व्यवस्था भएपनि सुचनाको हक कार्यान्वयन भएन भने मुलुकमा भ्रष्टाचार भइरहन्छ, त्यही कुरालाई रोक्न एउटा सहयोग होस् भन्ने उद्देश्यले सूचनाको अधिकार पुरस्कार स्थापना गरेको हो ।’
उक्त पुरस्कारकालागि ७ लाख रुपैयाँको अक्षयकोष जम्मा गरिएको छ । बस्नेतले सो बराबरको रकमको चेक नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै सूचना अभियन्ता निर्मल तामाङले पुरस्कारले सूचनाको अधिकारको क्षेत्रमा काम गर्ने जो कोहीलाई हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
आगामी चैत १६ गते वितरण गरिने पुरस्कारका लागि भने बस्नेतले अतिरिक्त रकम दिने प्रतिबद्धता जनाएका छन् । विराटनगरको सिर्जना फाइनान्समा राखिएको अक्षयकोषको प्रतिवर्ष ११ प्रतिशत व्याज दिनेगरी ५ वर्षको सम्झौतासमेत गरेको महासंघ मोरङका सचिव अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।