विर्तामोड , माघ २२ / मनाङ मस्र्याङदी क्लब झापामा जारी रमपम झापा गोल्डकपको उपाधि नजिक पुगेको छ ।
मनाङले आज शनिबार विर्तामोडको डोमालाल रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई १–० को गोल अन्तरले पराजित गरी सोमबार हुने फाइनलका आयोजक झापा–११ सँगको भेट पक्का गरेको हो ।
मनाङको जितमा खेलको ४१ औँ मिनेटमा विमल रानाले गोल गरे । विदेशी खेलाडी ओलावालेको क्रस पासमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर फर्किदा विमलले आकर्षक गोल गरेका थिए ।
निक्कै प्रतिष्पर्धात्मक खेलमा सुरुवातदेखि नै दुवै टोली आक्रमक देखिन्थे । यसअघि दुवै टिमले गोल गर्ने थुप्रै अवसरहरु गुमाएका थिए ।
खेलमा मनाङका कप्तान सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।