विर्तामोड, माघ २१ । आयोजक झापा झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको उपाधि नजिक पुगेकोे छ ।
झापाले आज शुक्रबार विर्तामोडको डोमालाल रंगशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो । फाइनलमा प्रवेश गरेसँगै आयोजकले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
खेल अवधिभर झापा आक्रमक रुपमा खेल खेलेको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा झापा झन आक्रमक बन्यो । कर्णले ७९औं मिनेटमा पुनः अर्को गोल गर्दै अग्रतालाई २–० मा र्पुयाए । डी–बक्स एरियाभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका थिए ।
८७ औँ मिनेटमा झापाका दिलेन लोक्तामको पासलाई सदुपयोग गर्दै बुद्ध चेम्जोङले तेस्रो गोल गरे । ९० औँ मिनेटमा खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै खेललाई ४–० को स्थितिमा र्पुयाए ।
यसअघि मंसिरमा भएको काँकरभिट्टा गोल्डकपमा झापा र हिमालयन शेर्पाको पहिलो भेट भएको थियो । त्यस खेलमा झापाले पेनाल्टी सुटआउटमा हिमालयन शेर्पालाई ४–३ गोलअन्तरले पराजित गरेको थियो ।
खेलको म्यान अफ द म्याच झापाका कर्ण लिम्बू घोषित भए ।
प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लब हुनेछ ।