झापा, माघ १५ / झापाको विर्तामोडमा आजदेखि सुरु भएको ‘रमपम झापा गोल्डकप’मा घरेलु टोली झापा–११ ले विजयी सुरुवात गरेको छ । उसले पाहुना टोली भारतको शेर फुटबल क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
खेल सुरु भएको ५ औं मिनेटमा झापाका सन्जोग राईले पहिलो गोल गरेका थिए । ३७ औं मिनेटमा बुद्ध चेम्जोङले पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनाए । पुजन उपरकोटीले ३९ औं मिनेटमा अर्को गोल गरेका थिए ।
हजारौं घरेलु दर्शकको समर्थन पाएको झापा भारतीय टोलीमाथि एकतर्फी रुपमा हाबी भएको थियो । उसले रक्षात्मक खेल पनि प्रदर्शन गर्न सकेन ।
दोस्रो हाफमा झापा झन् आक्रमक बन्यो । दोस्रो हाफको ३९ औं मिनेटमा झापाका कप्तान कर्ण लिम्बूले अर्को गोल गरे । ४१ औा मिनेटमा विदेशी खेलाडी पिटर सेगुनले गोल गर्दै खेललाई ५–० को अग्रतामा र्पुयाए ।
प्रतियोगितामा नेपाल र भारतको गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
आइतबार न्यूरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको उदघान एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।