विराटनगर,माघ १०/ राज्यले निर्माण व्यवसायीलाई उपेक्षा गरेको आज सोमबार विराटनगरमा भएको निर्माण व्यवसायीक संघ मोरङ २३ औं साधारण सभाका वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै उनीहरुले निर्माण व्यवसायी सम्बन्धी कानून,नियमहरु एकतर्फी रहेको भन्दै सरकारले निर्माण व्यवसायीको पक्षमा कानुन निर्माण गरी काम गर्नलाई सहज बनाउनु पर्ने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सागर थापाले निर्माण व्यवसायमा साना र ठूला व्यवसायी बीच ठूलो खाल्डो रहेको जानकारी दिए । उनले साना व्यवसायीले २ करोडसम्मको बोलपत्र खुला रुपमा भर्न पाउनु पर्ने माग सरकार समक्ष राखिएकोमा त्यसो नभएको जानकारी दिए ।
यस्तै २० लाख भन्दा माथिको दुइ करोडसम्मका निर्माण पुल,भवन,विद्युत गृह, सुरुङमार्ग रेल मार्ग, सडक निर्माणमा सरकारले विभिन्न सर्तहरु राखेर साना व्यवसायीलाई खुम्च्याउने कार्य गरेको आरोप लगाए ।
असार १ गतेदेखि ढुंगा, गिटी बालुवा जस्ता निर्माण सामाग्रीलाई बन्द गराइएकाले व्यवसायीहरु मर्कामा परेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू लागि पर्ने बताए ।