२६ पुस,विराटनगर / सरकारले तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहित गरेपछि मोरङमा धेरै युवाहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
तरकारीका लागि परनिर्भर बनिरहन परेकाले र वैदेशिक रोजगारीमा युवालाई जानबाट रोक्न नेपाल सरकारले चालु आर्थिक वर्षमै युवाका लागि लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागू गरेको छ ।
कार्यक्रम लागु भएपछि १ हजार १ सय भन्दा बढी कृषक समूहले व्यवसायिक तरकारी खेती गरिरहेका छन् । यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका, जान लागेका र लक्षित वर्गका युवालाई न्यूनतम एक बिगाह क्षेत्रफलमा तरकारी खेती गर्नका लागि ५० प्रतिशत अनुदान दिने कार्यक्रम छ ।
मोरङमा करिब १९ हजार हेक्टरमा गत आर्थिक वर्षमा तरकारी खेती भएकोमा ९७ हजार मेट्रिक टन तरकारी, मसला बालीमा अलैँची ९१ मेट्रिक टन र अदुवा १३ हजार १२५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले मोरङका कटहरी, शिसवनी, जहदा, इन्द्रपुर, मधुमल्ला, टाँडी, लेटाँङ जाँते, सिजुवा टकुवा मझारे, महादेवा, बाहुनीलगायतका गाविस तरकारी उत्पादनका पकेट क्षेत्र रहेको बताएका छन् ।
बजार प्रसस्त रहेकाले कुनै नोक्सानी ब्योहोर्नु नपर्ने कारण मोरङमा तरकारी खेतीले बढ्दो बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने युवालाई केही हदसम्म रोक्न सफल भएको छ । जिल्लाको भौडाहाका कृषक जीतनारायण सरदारले थोरै जग्गामा तरकारी खेती गरेर वार्षिक लाखौँँ रुपैयाँ आयआर्जन गर्दै आएका छन् ।
आफ्नो १० कट्ठा क्षेत्रफलमा उनले मौसमअनुसार हिउँदे, वर्षे तथा बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक रुपमा करिब २ लाख रुपैयाँसम्म आयआर्जन गर्ने गरेको उनले बताए । त्यस्तै, मोरङ कटहरी–९ नयाँबजारका कृषक श्यामकुमार साहले पनि तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक ४/५ लाख आम्दानी गर्ने गरेको बताउँछन् ।
तरकारी खेतीबाटै साहले कटहरीमा चार कोठाको एउटा पक्की घर बनाउनुका साथै विराटनगरमा एक कट्ठा घडेरी जोडेका छन् ।