२२ पुस,उर्लाबारी /अल्ट्रा म्याराथनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापाको दमकमा २८ लाखसहित सम्मान गरिएको छ ।
अल्ट्रा म्याराथनको अन्तराष्ट्रिय प्रतियोगितामा समेत विजेता बन्दै नेपाललाई विश्वसामू चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका आधा दर्जन संघसंस्थाहरुले संयुक्त रुपमा उनलाई २८ लाखसहितको सम्मान गरेको हो ।
दमकमा एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्राकुमारी सुब्बाले संयुक्त रुपमा मिरालाई २८ लाखको चेकसहित सम्मानपत्र हस्तान्तरण गरेको थिए ।
बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेशनको सहयोगमा उक्त रकम जुटाईएको थियो ।
त्यसैगरि सोही कार्यक्रममा मिरालाई अल्ट्रा म्याराथन खेलमा लाग्न प्रोत्साहन दिने कराँते खेलका प्रशिक्षक धु्रवविक्रम मल्ललाई समेत नगद २ लाखसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष समेत रहेका पूर्व ब्रिटिस आर्मी दमक–१९ का राष्ट्रकुमार राईले मिराले अल्ट्रा म्याराथनको माध्यमबाट अन्तराष्ट्रिय स्तरमै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विदेशमा बस्दै आएका नेपालीहरुले उनको आर्थिक पाटोमा सघाएको बताए ।
मिरा नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिईन् ।
भोजपुर सानोदुम्जा घर भएकी २६ वर्षीया मिरा राई पूर्व लडाकु समेत हुन् । तत्कालिन सरकार र माओवादीबीच शान्ति सम्झौता अनुसार भएको सेना समायोजनमा अयोग्य घोषित भएपछि मिरा राई एथ्लेटिक्समा लागेकी थिईन् ।
काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा पहिलो पटक भाग लिएर अल्ट्रा म्याराथनमा लागेकी उनले मुलुकभित्र तथा अन्तराष्ट्रिय स्तरका आधा दर्जन बढी प्रतियोगितामा उपाधि जित्न सफल धाविका हुन् ।
उनले आफ्नो खेल क्षेत्रको अन्तराष्ट्रिय यात्रा इटलीबाट शुरु गरेकी थिईन् । त्यसलगत्तै हङकङ र फ्रान्समा भएका अल्ट्रा म्याराथन जितेर अन्तराष्ट्रिय स्तरमा आफ्नो यात्रा थप मजबुत गरेकी हुन् ।
उनले पछिल्लो पटक फ्रान्समा मोन्ट ब्लान्स नामक् ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथन जितेपछि अन्तराष्ट्रिय स्तरमा उचाई बनाउन सफल भएकी हुन् ।