२० पुस,विराटनगर/ नेकपा एमाले मोरङको आगामी पुस २५ गतेदेखि सुरु हुने आठौं जिल्ला अधिवेशनमा अझै नेतृत्व टुङ्गो लाग्न सकेन ।
स्पष्ट दुई कित्ता संस्थापन पक्ष र नेता माधव नेपाल पक्षबीच हुने लागेको चुनावमा दुवै समुहका अध्यक्ष बाहेकको टुङ्गो लाग्न सकेको छैन ।
अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार बिनोद ढकाल र माधव नेपाल समुहबाट अहिलेका अध्यक्ष महेश रेग्मीको विषय निर्विवाद टुङ्गिएपनि त्यस बाहेक पदाधिकारीको विषयमा दुवै समुह अलमलमा परेको छ । ‘दिनभर विविध चरणमा छलफल भईरहेका छन्’ ढकाल समुहका नेता नरेश पोखरेलले भने,–‘हाम्रोमा विवाद छैन, सबै सहमत छौं ।’ उनले धेरै नेता भएपनि आकांक्षी कम भएको बताउँदै भने–‘सिनियरहरुलाई नेतृत्वमा आउन दवाव दिईरहेका छौं ।’ पोखरेलले अहिलेका सचिव ऋषि पोखरेल, महेश भट्टराई, सांसद तारा राई, ताराबहादुर काफ्ले, भुपेन्द्र लावती, बाबुराम कार्की, रामलाल साहलगायतबाट टुङ्गिने संकेत गरे ।
यता रेग्मी समुहमा समेत पदाधिकारी टुङ्गिन सकेको छैन । मंगलबार र बुधबार दिनभर छलफल हुँदा समेत पदाधिकारी अलमलमै परेको छ । रेग्मी समुहमा एकाथरीले सत्यनारायण चौधरी उपाध्यक्ष, विद्या चाम्लिङ सचिव र योगेन्द्र बस्नेत या राजकुमार ओझालाई सह–सचिव बनाउनुपर्ने लविङ गरिरहेको छ ।