१९ पुस,विराटनगर / अज्ञात समूहको गोली प्रहारबाट विराटनगरमा एक मनि चेन्जर सञ्चालक गएराति गोली प्रहारबाट घाइते भएका छन् ।
विराटनगर उपमहानगरपालिका १९ स्थित जोगबनी–विराटनगर सडक खण्डको पिपलचोकमा कृति मनी चेन्जरका सञ्चालक ४० वर्षीय बटेस साहमाथि गोली प्रहार भएको हो ।
मनी चेन्जर संचालक साहमाथि भएको गोली प्रहारको घटनामा संलग्न अझै सम्म पक्राउ पर्न सकेका छैनन् । गोली प्रहार गर्नेहरु ३० देखि ३५ वर्ष उमेर समुहका रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
राति ९ बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकल चढेर विराटनगरतर्फ आउँदै गर्दा अज्ञात समूहले गोली प्रहार गरेर साहसंग भएको चार लाख रुपैयाँ लुटेर लगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीले बताएका छन् । माक्स लगाएर दुईवटा मोटरसाइकलमा आएका चार जना साहको साथमा रहेको पैसा लुटेर गोली हानेपछि उत्तरतर्फ भागेको भण्डारीको भनाइ छ ।
पैसा लुट्ने क्रममा दोहोरो घम्साघम्सी भएपछि पैसा लुटिसकेर साहमाथि गोली हानेर उक्त समूह फरार बनेको प्रहरीले जनाएको छ । दाहिने तीघ्रा र हातमा गोली लागेर गम्भीर घाइते भएका साहलाई विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि रातिनै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
गोली प्रहार गर्नेहरुले घटनामा दुईवटा मोटरसाइकल प्रयोग गरेको भनिए पनि मोटरसाइकलको समेत पहिचान हुन सकेको छैन । एउटा मोटरसाइकलको नम्बर ३४३८ रहेको खुले पनि अल्फाबेट खुल्न नसकेको प्रहरीको भनाइ छ । खुलेको मोटरसाइकलको नम्बर नै नक्कली हो की सक्कली हो भन्ने बारेमा प्रहरी नै अनभिज्ञ छ । ‘सबै ठाउँमा प्रहरी परिचालन गरेर घटनामा संलग्नको खोजी भइरहेको छ,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘अहिले सम्म पहिचान हुन सकिरहेको छैन ।’ उनले प्राप्त केही सुराकका आधारमा घटनामा संलग्न चाँडै पक्राउ पर्ने दावि गरे ।