१८ पुस,विराटनगर /अपराधमा मुछिएका कारण प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि बुझाएका मोटरसाइकल लगायतका सवारी साधन जिल्ला अदालत मोरङमा कार्यरत कर्मचारीले चलाउने गरेको पाइएको छ ।
अपराधिक गतिविधी र अवैध धन्दामा प्रयोग गरिएका कारण कारवाहीका लागि बुझाइए पनि कारवाहीको विषयलाई छायाँमा पार्दै व्यक्तिगत र घरयासी कामका लागि मोटरसाइकल कर्मचारीले कब्जा गर्ने गरेको खुलेको प्रहरीले बताएको छ ।
‘कुनै पनि अपराध र अपराधिक गतिविधीमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएर कारवाहीका लागि बुझाउने काम हाम्रो हो,’ एक प्रहरी अधिकारीले भने, ‘तर अदालतका कर्मचारीले त्यसको दुरुपयोग गरिदिनु दुःखद् हो ।’ उनले अदालतका कर्मचारीले लागूऔषध, लुटपाट र चोरी लगायतका मुद्धा र चोरीका मोटरसाइकल समेतका अन्य सवारी साधन चलाउने गरेको पत्ता लागेको बताए ।
अपराधमा प्रयोग गरिएका सवारी साधन बरामद गरेर दसी प्रमाणका रुपमा प्रहरीले पेश गर्दा न्यायालयका अधिकारीले आफ्नो व्यक्तिगत सम्पत्ती जस्तो बनाएर चलाउन र चढ्न निमिल्ने कानुन व्यवसायीको भनाइ छ । ‘अदालतले कुनै मुद्धाको फैसाला गरिसकेपछि त्यो मुद्धासंग जोडिएका सवारी साधनको टुँगो पनि अदालतले नै लगाउँछ,’ एक कानुन व्यवसायीले भने, ‘दसी प्रमाणका रुपमा सुरक्षित राख्नु पर्ने त्यस्ता सवारी साधन न्यायालयका अधिकारीले चलाउनै मिल्दैन ।’
अदालतका तहशीलदार केदार गौतमले अपराधमा प्रयोग भएर अदालतमा पेश गरिएका सवारी साधन सम्बन्धीत कर्मचारीलाई नै जिम्मा लगाएर चलाउन दिने गरिएको बताए । उनले अदालतको काममा खटिने कर्मचारीले धेरै पहिलेदेखि यस्ता सवारी साधनको प्रयोग गर्ने चलन रहेको जानकारी दिंदै भने, ‘मेसिनरी चिज चलाइरहनु पर्ने भएकाले पनि यसलाई दुरुपयोग भन्न मिल्दैन ।’
गौतमका अनुसार अपराधमा मुछिएका तर अदालतबाट फैसला हुन नसकिरहेका मध्ये दुईवटा स्कुटर र एउटा मोटरसाइकल जिल्ला अदालतका कर्मचारीले अहिले चढिरहेका छन् ।