AArya
RUMPUM
animated ellipse animated ellipse

राजघाटमा तमु ल्होसार मनाईयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७३, शुक्रबार १९:०५
3
Shares
१५,पुस, उर्लाबारी / देशैभर हर्षोल्लास गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार मनाईरहँदा आज शुक्रवार मोरङको राजघाटमा पनि भव्यताको साथ यो पर्ब मनाईएको छ ।
तमु ह्युल छोंज धीं राजघाट गाउँ कमिटीका आयोजनामा तमु बौद्ध गुम्वा राजघाट—५ हाताभित्र भएको कार्यक्रममा गुरुङ समुदायका मानिसहरुले ल्होसारको अवसर पारेर बिहानदेखि नै ढोग–भेट, नाचगान आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर थिए ।
ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रममा गुरुङ जातिहरु आफ्नै शैलीका भेषभुषामा शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिएका थिए भने पुरुषहरुले शिरमा टोपी, भोटोमाथि भाङग्रो लगाएर चिटिक्क परेर आएका थिए । त्यसको साथमा कछाड अनि पटुकी बाँधेका थिए । एकआसपमा शुभकामना साटासाट गरेर मिठा मिठा खानेकुरा सेलरोटी तथा फलफुल खाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष नरबहादुर मोक्तानले राज्यले नेपालमा रहेका बिभिन्न जातजातिको कलासंस्कृति जर्गेना गर्न सहयोग तथा प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आफ्नो कलासंस्कृतिलाई बचाईरहन नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा किराँत याक्थुम चुम्लुङ राजघाटका अध्यक्ष जिवन पोमु,राजघाट प्रहरी चौकीका इन्चार्ज प्रेमकुमार जिमि,नेपाल तामाङ घेदुङका राजघाट उपाध्यक्ष शुक्र घिसिङ लगायको आतिथ्यता रहेको थियो । हेमराज गुरुङले सञ्चालन गरेको कार्यक्रममा बलबहादुर तमुको सभापतित्व रहेको थियो ।
तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड का साथै गुरुङहरुको नयाँ वर्ष पनि हो । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । स्थानीय हेमराज गुरुङका अनुसार साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ ।
गुरुङ समुदायलाई जनाउने अर्काे नाम तमु हो । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरुका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर