३५ वर्षपछि विराटनगरमा बन्यो देशको दोस्रो व्यवस्थित सुटिङ रेञ्ज
पूर्वाञ्चल खबर
६ पुष २०७३, बुधबार १७:२३
3
Shares
६ पुस, विराटनगर/समय अभाव र पैसा बेलैमा निकासा नभए पनि काठमाडौंपछि दोस्रो व्यवस्थित सुटिङ रेञ्ज बन्ने विराटनगरको अभियान लगभग पुरा हुने अवस्थामा देखिएको छ।
पूर्वाञ्चलमा पहिलो पल्ट आयोजना हुन लागेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करणमा विराटनगरको बैजनाथपुरस्थित १५ विघा ठूलो रंगशालामा सुटिङ रेञ्जको निमार्ण कार्य तदारुकताका साथ भइरहेको छ। तर, ९ गतेदेखि सुरु हुने १० मिटर लामो एयर पेस्तोलको स्पर्धा पूर्व निमार्णको सबै काम पुरा हुने छाँट देखिएको छैन्।
अन्य सबै काम पुरा भएपनि छाना हाल्ने र प्याराफिटको काम पुरा हुन बाँकी छ। सुटिङ हल निमार्ण उपभोक्ता समितिका सचिव नवीन रेग्मी २ दिनभित्र छाना लगाउने काम पुरा गर्न आफू दिनरात खटेको बताउँछन्। तर, प्याराफिट भने प्रतियोगिता अगाडि निमार्ण गर्न असम्भव भएको उनको भनाई छ। प्याराफिट निमार्णका लागि ढलाई र पनिङको काम मात्र बाँकी छ।
तत्कालै हडबडीमा प्याराफिट बनाएको खण्डमा त्यो दिगो नहुने र चिसोका कारण बसेर हेर्नेलाई पनि असुविधा हुने उनी बताउँछन्।
‘हाम्रो पुरै शक्ति छाना हाल्नेमा केन्द्रित छ। प्याराफिटको काम तत्काल असम्भव छ। त्यसैले दर्शकहरुलाई खेल हेर्न प्याराफिट उठाइएको ठाउँमा काठको फ्ल्याएक राख्ने योजना छ,’ सचिव रेग्मीले भने।
सुटिङ रेञ्ज निमार्णका लागि राष्ट्रिय खेलकुद परिषद्ले तीन किस्तामा उपभोक्ता समितिलाई ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो। सुटिङ रेञ्ज तयार भएपछि यो काठमाडौंपछि देशको दोस्रो व्यवस्थित रेञ्ज हुनेछ।
हाल नेपालमा काठमाडौं र नेपालगञ्जमा मात्र सुटिङ रेञ्ज थियो। नेपालगञ्जमा रेञ्ज भएपनि त्यो व्यवस्थित छैन्। विराटनगरको रेञ्जको काम पुरा भएपछि यसमा एसियालीस्तरको प्रतियोगिता आयोजना गर्न सकिने पूर्व खेलाडी र संघका टेक्निकल विभाग प्रमुखसमेत रहेका रेग्मी बताउँछन्।
‘हामीले विराटनगरको रेञ्जमा एसियालीस्तरको प्रतियोगिता गराउन निमार्णको काम पुरा भएपछि हलको वातावरण दुरुस्त कायम गर्न एयरकन्डिसन, छानामा फल्स सिलिङ र अन्तर्राष्ट्रिय सुटिङ संघले तोकेको मापदण्डअनुसार बत्तिको काम पुरा गर्नु पर्नेछ,’ उनले बताए।
नेपाल सुटिङ संघ २०३७ सालमा विधिवत रुपमा दर्ता भएपछि राष्ट्रिय खेलकुद परिषद्ले ३५ वर्षमा पहिलो पल्ट सुटिङ रेञ्ज निमार्णका लागि लगानी गरेको हो। काठमाडौंको ललितपुरस्थित अन्तर्राष्ट्रिय खेल परिषरमा निमार्ण भएको सुटिङ रेञ्ज चीन सरकारले सन् १९९९ मा आयोजना भएको आठौं सागलाई मध्यनजर गरेर निमार्ण गरेको हो। नेपालगञ्जको सुटिङ रेञ्ज गोदामलाई बनाइएको हो।
यस्तो अवस्थामा विराटनगरमा सुटिङ रेञ्ज निमार्णलाई लिएर स्थानीय खेलाडी पनि उत्साही छन्। विराटनगरमा बनेको रेञ्जमा १८ वटा प्वाइन्ट राखिएको छ।
नेपालमा आसन्न तेह्रो दक्षिण एसियाली खेलका लागि पनि यो रेञ्ज आवश्यक थियो। विराटनगरमा रेञ्ज निमार्ण कार्यसम्पन्न भएपछि यसको स्तरोन्नतीका लागि थप बजेटको आवश्यकता पर्ने बताइएको छ। अहिले सुटिङ रेञ्जलाई इलेक्ट्रोनिक बनाउँदा लगभग १ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ। रेञ्जलाई इलेक्ट्रिक मात्र बनाएको खण्डमा २५ लाख रुपैयाँमा काम सम्पन्न हुनेछ। सेतोपाटी