खबर पूर्वाञ्चल
आफ्नै संचालक सदस्यमाथि शरीर बन्धक गरी अपहण शैलीमा १५ लाख नगद असुलेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा विराटनगरका उद्योगी तथा नेपाल टाइम्स मिडिया प्रा.लि.का संचालक अरुणकुमार राठीले जाहेरी दिएपछि प्रहरीले अदालतबाट अनुमति लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि प्रहरीको सम्पर्कमै रहेका खत्ताबले आज विहान जिल्ला प्रहरी कार्यालय मोरङमा आत्मसर्मपण गरेका हुन् । उनले समाजिक संजालमार्फत यस्तो जानकारी गराएका छन् । उनले लेखेका छन्, साथीहरु ! म यति दिनसम्म विभिन्न व्यवहारहरु मिलाउन गृहजिल्लामा दाजुभाइ र बुबाआमाहरुसँग थिएँ ।
सबैसँग सम्पर्कमा नै छु । मेरो बारेमा विभिन्न आरोप र हल्लाहरु मात्र चलाइयो। मैले प्रशासन समक्ष पनि घरायसी व्यवहार मिलाएर आउँछु भनेको थिए । सबै साथीभाइहरुसँग सम्पर्कमै छु। अब व्यवहारिक कामहरु सबै सकेर अनुसन्धानमा सहयोग गर्न आफैं जिल्ला प्रहरी कार्यालय उपस्थित भइसकेको छु । आफैं आएर यतिबेला म जिल्ला प्रहरी कार्यालयमोरङमा सबै व्यहोरा जानकारी गराइरहेको छु । म एक संचारकर्मी (पत्रकार ) भएकोले अन्यका घटनामा पनि सत्य तथ्य पत्ता लगाउन सहयोग गर्ने व्यक्ति हुँ भने मसँगै अनावश्यक रुपमा जोडिएको विषयमा अनुसन्धान कर्ममा मेरो पूरा सहयोग रहने छ । विश्वास छ –कानुनले न्याय दिलाउने छ । खत्ताबले यसअघि पनि आफुमाथिको आरोप निराधार रहेको बताउदै समाजिक संजालमा स्टाटस लेखेका थिए ।
नेपाल टाइम्सकै संचालक सदस्य राठीले सिद्धिकीमाथि गएको आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा अपहरण तथा शरीर बन्धक समेत भन्दै जाहेरी दिएका थिए । राठीले जाहेरीमा नेपाल टाइम्सका सञ्चालकबाट अपहरणमा परेको र फिरौती रकम बुझाएर फुत्किन सफल भएको बताएका छन् । सिद्धिकीले आफ्नै मिडिया हाउसमा भिडियो सुटिङ गर्ने भन्दै बुधबार आफूलाई घरबाटै लिएर गएको र विराटनगर–६, सरौचियास्थित मिडिया हाउसको पुरानो कार्यालयमा लगेर अन्य अपरिचितको सहयोगमा हातखुट्टा बाँध्दै ३० लाख रुपैयाँ माग गरेको राठीले जाहेरीमा उल्लेख गरेका छन् । उक्त रकम नदिए भारत पु¥याउने धक्की दिँदै उनीहरूले विराटनगर–५ स्थित एभरेस्ट बोर्डिङ स्कुलअगाडिको नयाँ कार्यालय पु¥याएर कुटपिट गरेको उनको दाबी छ ।
राठीले भारतमा लगेर मार्ने धम्की दिएपछि तत्काल १५ लाखको चेक दिएको र १५ लाख एक साताभित्र दिने सर्तमा अपहरणमुक्त हुन सफल भएको बताएको दाबी गरेका छन् । आफूलाई धेरै अप्ठेरो परेको देखाएर यसअघि पनि खत्ताबले पैसा लिँदै आएको उनले बताए । उनका अनुसार सुरुमा २० लाख रूपैयाँ लगानी गरिएको थियो । त्यसपछि २ पटक ५–५ लाख गरेर र १ पटक डेढ लाख गरेर ११ लाख ५० हजार रूपैयाँ दिएको राठी बताउँछन् ।
‘अन्तरवार्ता लिने भन्दै फकाएर मलाई मेरै घरबाट स्कुटरमा लिएर गए । अन्तरवार्ता पनि लिए । खत्ताबसँग १ जना अपरिचित व्यक्ति पनि थिए,’ राठीले भने, ‘सोफामा बसिरहेका बेला एक्कासि फलामको साङ्लोले बाँध्न खोजे । भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिएर हाटखुट्टा बाँध्दै कुटपिट गरे । त्यसपछि १ करोडको ‘बार्गेनिङ’ गर्न थाले ।’
आफ्नो ज्यान खतरामा परेको ठानेर आफूले पनि पैसा दिन्छु भनेर फुत्किने प्रयास गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यहाँबाट १ करोड रूपैयाँमा सुरु भएको ‘बार्गेनिङ’ पछि ३० लाखमा मिलेको राठीले बताए । त्यसपछि घरमा भएको चेक चालकलाई मगाएर १५ लाख रूपैयाँको काटिदिएको उनको भनाइ छ ।
ग्लोबल बैंक लिमिटेडको १५ लाख रूपैयाँको चेक नेपाल टाइम्स मिडिया प्रालिका नाममा तत्काल काटिदिएको र १ सातापछि १५ लाख रूपैयाँ दिने सर्त राखेर आफूलाई छाडिदिएको राठीले बताए ।
अपहरण गरेर मंसिर १४ गते बिहान ६ः३० बजेदेखि १०ः३० बजेसम्म बन्धक बनाउँदै १५ लाखको चेक लिएको भनी राठीले खत्ताबसहित अन्य व्यक्तिविरुद्ध पनि जाहेरी दिएका छन् । तर, अन्य व्यक्तिको पहिचान आफूले गर्न नसकेकाले खत्ताबबाटै पत्ता लगाएर कारबाही गर्नुपर्ने माग जाहेरीमा गरिएको छ ।
‘घटनापछि म निक्कै डराएको र त्रसित भएको थिएँ । गोलीले हानेर मारिदिनेसम्मको धम्की दिए । यो कुरा सार्वजनिक गरेमा परिवारलाई समेत सकिदिने धम्की आयो,’ राठीले भने, ‘क्यामेराको ब्यागमा पेस्तोल पनि छ । जिन्दगी एउटा गोली न हो भनी पैसाको ‘बार्गेनिङ’ गरे । मलाई तलमाथि नगर्नू, नत्र बुझेकै छ भनी चेतावनी दिए ।’