दिपेन्द्रको शानदार व्याटिङ, नेपाल श्रीलंकासँग १ रनले चुक्यो
पूर्वाञ्चल खबर
३० मंसिर २०७३, बिहीबार १८:३७
3
Shares
३० मंसिर, विराटनगर /यूथ–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग १ रनको झिनो अन्तरले पराजित भएको छ ।
नेपालका दिपेन्द्र सिंह ऐरीले शानदार प्रदर्शन गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । तर, अन्तिम चौथो बलमा उनी नेपाललाई विजय बनाउन चुकेका थिए ।
अन्तिम ओभरको दोस्रो बलमा छक्का हान्दै दिपेन्द्रले नेपाललाई जितको केहि आशा देखाएका थिए । उनी ९० रनमा खेलिरहेका थिए । तर जितका लागि ४ बलमा मात्र २ रन चाहिएको स्थीतमा उनी तेस्रो बलमा आउट हुन पुगे र नेपालले जित्नै लागेको खेल गुमाउन पुगेको छ ।
एक समय नेपालले ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । र, खेल पनि झण्डै ६ ओभर बाकी रहेको थियो ।
ऐरीसँग राम्रो साझेदारी गरिरहेका अविनाश कर्ण ४६ औं ओभरमा चौथो बलमा आउट भए । उनले ४० रनमा बनाए । यो साझेदारी टुटेसँग नेपाली इनिङ धर्मराउन पुग्यो ।
पवन सर्राफ शुन्यमा आउट भए । कमल ऐरीले दिपेन्द्रलाई साथ दिए । ४९ औं ओभरको पहिलो बलमा कमल पनि ९ रनमै रन आउट भए । जतिबेला नेपालको स्कोर २ सय १८ रन थियो । कप्तान सन्दिप लामिछाने पनि ३ रनमा रनआउट भए ।
र, अन्तिम ओभरमा नेपाललाई ८ रन चाहिएको थियो । पहिलो बलमा रन नजोडेका उनले दोस्रो बलमा छक्का हाने । अब ४ बलमा २ रन चाहिएको थियो र, पनि नेपाल चुक्यो ।
उसो त नेपालको सुरुवात निकै खराब थियो । दुबै ओपनर चल्न सकेनन् । पहिलो विकेटका रुपमा सन्दिप सुनार २ रनमा आउट हुँदा नेपालको स्कोर ४ रन मात्र थियो । थप एक रन जोड्दा आशिफ शेख १ रनमै आउट भए ।
आदिल खानले पारी सम्हाल्ने प्रयास गरे । उनले भीम सार्कीसँग मिलेर नेपालको स्कोर ३२ रनमा पुर्याए । तर, भीम चौथो विकेटका रुपमा मात्र ८ रनमा आउट भए । पाँचौं नम्बरमा क्रिजमा आएका दिपेन्द्रले उत्कृष्ट पारी खेल्दै नेपाललाई जिततर्फ डोर्याएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । उसका लागि हासिथ बोयगोडाले ८३ रन बनाए ।
नेपालका कमल ऐरीले ३ विकेट लिए भने पवन सर्राफले २ तथा दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।