२०,मिंसिर,विराटनगर /नेपाली महिला बडी-बिल्डर ननिता महर्जनले थाइल्यान्डको पटायामा सम्पन्न अन्तराष्ट्रिय बडी-बिल्डिङ प्रतियोगिता अन्तरगत ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जित्तै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन् ।
३१ वर्षीय ननिता महिला ‘एथलेटिक फिजिक’ को १ सय ६५ सेन्टीमिटर उचाइमा सहभागी थिइन् । उनले आफ्नो पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन् । ‘यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु ।’ उनले भनिन्
सात वर्षको छोराकी आमासमेत रहेकी ननिताले दुई महिनाअघि काठमाडौंमा अयोजना भएको महिला बडी-बिल्डिङको उपाधि जितेकी थिइन् ।
ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का जितेकी हुन् । पाँच महिला बडी बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन् । रजत पदक भने उज्वेक बडिबिल्डर नुरायेभा येलेनाले जितिन् । सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे ।