१९ मंसिर, विराटनगर/ कृषि विकास मन्त्री गौरीशंकर चौधरीले राजनितिक दलहरुले आफ्नो स्वार्थलाइ त्यागेर अगाडि बढ्न नसके संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
मोरङको कटहरी स्थित जमटोकी टोलमा निर्माण शुरु भएको एकीकृत थोक कृषि बजारको शिलान्यास गर्दै उनले सबै राजनितिक दलहरुले एकजुट भएर अगाडि बढेमात्रै संविधान कार्यान्वयन हुने बताए । संविधानलाई प्रयोगमा ल्याउन राजनितक दलहरु मिल्नुपर्नेमा जोड दिदै उनले आफ्नै देश भित्रको एउटा प्रदेशको संरचना निर्माणको विषयमा जनतालाइ भड्काउने काम नगर्न आग्रह गरेका छन् ।
आफ्नै देश भित्रको प्रदेश विभाजनलाई अतिरञ्जित गरेर जनतालाइ भड्काएर आन्दोलनको बाटो तर्फ जानु देश र नेताहरुका लागि नै घातक हुने उनले बताए । प्रदेश विभाजन भएपनि देश एउटै हुनाले संघियतालाइ गलत प्रचार नगर्न उनले नेताहरुलाइ आग्रह गरेका छन् ।
कृषि मन्त्रालयअन्तर्गत संचालित व्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) ले लगभग १४ करोडको लागतमा एकीकृत थोक कृषि बजारको निर्माण सुरु गरेको हो । उक्त बजार एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने प्याक्टका निर्देशक गोविन्दले बताए । बजार निर्माण पश्चात सुनसरी मोरङ र झापा गरी कम्तीमा पनि तिन वटा जिल्लाका कृषक तथा बजारीकरण गर्ने पक्षहरु प्रत्यक्ष लाभान्वित हुने जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोजकुमार यादवले बताए । लामो समयको प्रयत्न पश्चात बजार निर्माण सुरु भएपछि यहाका स्थानिय तथा कृषकहरु समेत हसिृत बनेका छन् ।