११ मंसिर, विराटनगर/ झोराहाट नाट्य समूह मोरङको आयोजनामा आज गाउँमा कविताको आठौं शृंखला सम्पन्न भएको छ ।
गत वैशाखदेखि सुरु भएको शृंखलामा हरेक महिनाको दोस्रो शनिबार चार जना कविका कविता वाचन हुने गरेको छ । आजको कार्यक्रममा कवि मोहिनी मन, धनकुटे कान्छा, केजी सुब्बा र मनु विश्वकर्माले आफ्ना चार–चारवटा कविता वाचन गरेका छन् ।
मोहिनीले भो हाकिम सा’ब अब म जागिर खान्न, हामी गैरहरिगोपाल, बा र भुइँचालो तथा भगवान र मानिस कविता वाचन गरेका छन् । त्यस्तै धनकुटे कान्छाले आला अनुभवी र मन, इतिहास निफनेर, पहाड उन्यू र म, देश छातीमा टाँसेर हिंड्नेहरुलाई वाचन गरे भने सुब्बाले प्याराडाइमसिफ्ट, पयूका फूल र तिम्रो सपना, माटोमा खिया लागेछि र नयाँ सालको नयाँ कविता वाचन गरेर उपस्थित स्रोताको ताली पाएका थिए ।
त्यस्तै अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित भएकी धनकुटाकी कवि विश्वकर्माको कविता कार्यक्रम संयोजकसमेत रहेका कवि रमेशचन्द्र अधिकारी र कवि उमेश लुइँटेलले पालैपालो वाचन गरेर सुनाए ।
कविता वाचनअघि प्राज्ञ विवश पोखरेल र वरिष्ठ लोकगायक एलपी जोशीले कविहरुलाई माला, टोपी र खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा नाट्य समूहका सचिव रामप्रसाद न्यौपानेले गाउँमा कविता शृंखलाले झोराहाटको पहिचानलाई देशका कुनाकुनामा पु¥याएको उल्लेख गरे ।
आगामी पुसको शृंखलामा काठमाडौंका प्रल्लाद सिन्धुलिया, हेटौडाका आरआर चौलागाईं, इलामका विमल वैद्य र विराटनगरका शशी किरणका कविता वाचन राखिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । झोराहाट नाट्य समूहले गाउँमा कविता मासिक शृंखलाबाहेक समय–समयमा नाटक प्रदर्शन, प्रशिक्षण, अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।