पूर्वाञ्चल खबर
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर,२५ कार्तिक स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रसका यूवा नेता गगन थापाले मापदण्डविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरु चाँडै खारेज हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज स्थानिय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री थापाले गुणस्तर सेवा नदिने, तोकेभन्दा बढी सैय्या राखेर अस्पताल सञ्चालन गर्नेलाई तत्काल कारबाही गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिए ।
स्वास्थ्य संस्थाहरु मापदण्डअनुसार छन् वा छैनन् भन्ने विषयमा स्वास्थ्य महाशाखाको टोलीले विराटनगरमा अनुगमन सुरु गरिसकेको मन्त्रि थापालेजानकारी गराए । उपचारको नाममा बढी रकम लिने र बिरामीलाई सेवा नदिने अस्पतालहरुले अब उन्मुक्ति नपाउने थापाले चेतावनी दिए ।
मन्त्री थापाले प्रत्येक नेपाली जनतालाई सहज रुपले स्वास्थ्य सेवा पु¥याउन सरकारले स्वास्थ्य बिमा कार्यक्रमसमेत सञ्चालन गर्न लागेको बताए । त्यसका लागि आगामी पुसभित्र स्वास्थ्यसम्बन्धी नयाँ ऐन आउने र सबै नेपाली जनताले सहज रुपले स्वास्थ्य बिमा गर्न पाउने वातावरण बन्ने उनले जानकारी गराए ।
त्यस्तै फरक प्रसंगमा थापाले मुख्य दलहरुबीच संविधान संशोधन हुने ग्यारेन्टी गरेर मात्र प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले संविधान संशोधन प्रक्रिया संसदमा दर्ता गर्न हतारभन्दा पनि पहिलो संविधान संशोधनका लागि नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा मओवादी केन्द्रबीच सहमति हुनुपर्ने बताएका छन् ।