खबर पूर्वाञ्चल
खास गरी तराई मधेसका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । छठ पर्वको मुख्य दिन आउनै लागेकाले अहिले मानिसहरु छठको तयारीमा जुटेका छन् ।
विपन्नदेखि सम्पन्न मासिनहरु समेत आ–आफ्नो गच्छे अनुसार छठ पर्वका लागि किनमेलमा व्यस्त रहेका छन् । अहिले विराटनगर बजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड लागेको छ । खासगरी यतिबेला बजारमा छठका लागि आवश्यक सामाग्रीहरु कोनिया, ढाकी, केरा, नरिवल, भोगटे, माटाका घैला, पाला लगायतका सामाग्री किन्नेहरुको भीड देखिन्छ ।
यता सर्वसाधारणले भने यी सामाग्रीहरुको विक्रि बढेसँगै मूल्य समेत आकाशिएको गुनासो गरेका छन् । अन्य समयमा १ सय ५० रुपैयाँ पर्ने नाङ्लोलाई अहिले बजारमा १ सय ८० देखि २ सय रुपैयाँ, यस्तै कोनियालाई १ सय रुपैयाँ, ढाकीलाई २ सयदेखि ३ सय रुपैयाँसम्म पर्ने गरेको छ ।
छठमा माटाबाट बनाइएका सामाग्रीहरुको समेत विक्रि बढ्ने गरेको छ । छठमा खासगरी माटाको घैंटो, दीप, ढकना, हात्ती, सरवा लगायतका समाग्रीको किनबेच हुने गर्दछ । तर यी सामाग्रीको समेत मूल्य निकै बढेको छ । यसबर्ष सिमित मात्रामा छठका सामाग्री भएकाले मूल्य बढेको व्यापारीहरुको भनाइ छ ।
यतिबेला विराटनगरका बजारहरु छठका सामाग्रीले भरिभराउ भएका छन् । खासगरी विराटनगरको गुद्री बजार छेउको सडक आसमापसमा ब्यापारीहरुले पसल थापेर छठका सामाग्री विक्रि गर्ने गरेका छन् ।
छठ पर्वमा खासगरी गाउँघरमा उत्पादित सामाग्रीबाटै निर्माण गरिएका सामाग्रीहरुको प्रयोग गर्ने गरिएको छ । जसका कारण छठ पर्वले सँस्कृति संरक्षणका साथै ग्रामिण भेगका कृषकहरुको अर्थोपार्जनलाई समेत सघाइरहेको छ ।