पूर्वाञ्चल खबर
खबर पूर्वाञ्चल सम्वाददाता
सिजुवा,१९ कार्तिक/प्रतिभाको मूल्याङकनमा लापरवाही र धाँधली भएको भन्दै बालबालिकाले असन्तुष्टि जनाएपछि सिद्धार्थ युवा क्लब सिजुवा ८ शनिश्चरेले वुधवार प्रहरीको सहयोगमा बालबालिकालाई तितरबितर पार्दा त्यसको चौतर्फी आलोचना भएको छ ।
क्लबले भाईटिकाको भोलीपल्ट सिजुवा ८ शनिश्चरे बजारमा गर्दै आएको सांस्कृतिक कार्यक्रममा झुर्कियास्थित मुनलाईट स्कूलको मारुनी नृत्यलाई शो डान्समा राखेर प्रतिस्पर्धामा मूल्याङकन नगरेको भन्दै सहभागी बाल कलाकारहरुले आयोजकलाई जानकारी गराउन मञ्चमा गएपछि डर देखाउने शैलीमा प्रहरी परिचालन गरे पश्चात त्यसको चौतर्फी आलोचना भएको हो ।
सस्कृति संरक्षणका लागि कार्यक्रम भनेर प्रचार गरेपनि अन्त्यमा बालबालिकाको प्रतिभालाई घाँटी निमोठ्ने काम भएको भन्दै विद्यालयका तर्फबाट मारुनी नृत्यमा सहभागी १७ जना विद्यार्थीले नतिजा घोषणा गर्दागर्दै विरोध जनाएका थिए । सो क्रममा आयोजकले प्रहरी परिचालन गरेर बालबालिकालाई मञ्चबाट तितरबितर पारेपछि त्यसको विरोध भएको नृत्यमा सहभागी विद्यार्थी अनिश गौतमले बताए ।
विराटनगरमा रहेको भानुकला केन्द्रबाट निर्णायकका रुपमा आएका प्रेम सोनामले आयोजकले भने अनुसारको नृत्यलाई प्रथम घोषणा गरेको भन्दै विद्यार्थीहरुले त्यसको विरोध गरेको विद्यार्थी सेविका वाह्रकोटीले बताइन । नजिता घोषणामा विद्यार्थीहरुले अनेक गल्तीहरु गरेको भन्दै निकृष्ट शैलीमा निर्णायक सोनामले मञ्चबाट उद्घोष गरेपछि विवाद अझ बढेको थियो । सोही बिषयलाई लिएर मुनलाइट स्कूलले नतिजामा चित्त नबुझेको निवेदन दिएपछि क्लबले शुक्रवार छलफल गराएको थियो ।
छलफलका क्रममा क्लबका गतिविधिलाई लिएर क्लबका सदस्यहरुबीच विवाद बढेपछि सो निवेदनमा कारवाही हुन नसकेको विद्यालयका प्रिन्सीपल कृष्णप्रसाद ढकालले गुनासो पोखे । यता क्लबलका अध्यक्ष मनोज पौडेलले भने आयोजकको कुनै गल्ती नरहेको र प्रहरी परिचालनको बिषयमा खण्डन गरेका छन् ।