खबर पूर्वाञ्चल
काठमाडौं, कात्तिक ११/मध्य इटालीमा दुई घण्टाको बीचमा दुईवटा शक्तिशाली भूकम्प गएका छन्। गत अगष्टमा झण्डै तीन सय मानिसहरूको ज्यान जाने गरी भूकम्प गएको क्षेत्र नजिकै यी पछिल्ला दुई वटा भूकम्प गएका हुन्।
स्थानीय समय ७ बजेर १० मिनेटमा माचेराटा प्रान्तमा पर्ने भिसोनजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको स्थानीय अधिकारीहरूले बताएका छन्।
पहिलो भूकम्प गएको दुई घण्टापछि ६ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प सोही क्षेत्रमा गएको बिबिसीले जनाएको छ।
दोस्रो शक्तिशाली भूकम्प जाँदासम्म धेरै मानिसहरू खतरा क्षेत्रबाट सुरक्षित ठाउँतिर सरिसकेको ठानिएको छ।
भूकम्पको केन्द्रविन्दु नजिक रहेका स्थानीय मेयरहरूले त्यहाँ केही क्षति पुगेको तर धेरै कममात्रै मानिसहरू घाइते भएको खबर दिएका छन्।
तर, उज्यालो नहुँदासम्म क्षतिको अवस्था स्पष्ट नहुने उनीहरुले बताएका छन्।
एक जना व्यक्ति घाइते भए पनि तत्काल कुनै हताहतीका खबरहरू नआएको त्यहाँको नागरिक सुरक्षा हेर्ने निकायका प्रमुखले बताएका छन्।
तर, त्यहाँ बिजुलीको आपूर्ति बन्द भएको, ऐतिहासिक भवनहरुमा क्षति पुगेको र रोमको उत्तरमा पर्ने मुख्य सडकमा पहिरो गएको खबरहरु आएका छन्।
करिब तीन सय मानिसको ज्यान जानेगरी इटलीको दक्षिणी क्षेत्रमा भूकम्प गएको दुई महिनापछि यी दुई शक्तिशाली भूकम्प गएका हुन्।
अहिले भूकम्प गएको क्षेत्रबाट ७० किलोमिटर टाढा रहेको पहाडी क्षेत्रमा गत अगष्ट २४ गते ६.२ म्याग्निट्युडको भूकम्प गएको थियो।
बुधबार गएको भूकम्प राजधानी रोमसहित मध्य इटालीमा महसुस गरिएको थियो।सेतोपाटी