विराटनगर, १८ वैशाख / नेपाली साहित्यमा प्रयोग हुँदै आएको लीला लेखनका बारेमा आज विराटनगरमा परिचर्चा गरियो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लीला लेखन अभियानमा संलग्न साहित्यकार कृष्ण धरावासीसँग अन्तरक्रियासमेत गरिएको थियो । मदन पुरस्कार विजेता धरावासीको लीला लेखनसम्बन्धी पुस्तक लीला विमर्शका विषयमा समेत परिचर्चा गरियो ।
कार्यक्रममा धरावासीले हरेक मान्छेले दैनिक जीवनमा गर्ने कार्य नै लीला भएको धारणा प्रकट गरे । उनले नेपाली साहित्यमा लीला लेखनको प्रयोग र प्रभावका विषयमा चर्चा गरे । साहित्यमा लीला लेखनको प्रयोग साहित्यकार इन्द्रबहादुर राईले वि.सं. २०३४ सालमा सुरु गरेका थिए । त्यसपछि धरावासी र ज्ञानमणि नेपालले लीला लेखन अभियान सञ्चालन गरे ।
आफ्ना आधा बाटो, राधा, शरणार्थी, झोलालगायतका कृतिमा लीला लेखन प्रयोग भएको उनले जानकारी दिए । कार्यक्रममा साहित्यकार गोपाल निर्भीक, मञ्जु शर्मा, उमानाथ घिमिरे, चूडामणि नेपाल ‘अकिञ्चन’, स्वयम्भुनाथ कार्कीलगायतले लीला लेखनका विषयमा जिज्ञासा राखे ।
वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार प्राडा मेदिनीप्रसाद शर्मा नेपाल, दिङ्लाली कान्छोलगायतले नेपाली साहित्यमा लीला लेखनको प्रभाव र प्रयोगका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरे ।