RUMPUM
animated ellipse animated ellipse

सर्बिया पठाउने भन्दै दिल्लीमा डेढ महिना बन्धक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०८३, आईतवार ०८:३६
3
Shares
विराटनगर/ सामाजिक सञ्जाल टिकटकमार्फत युरोपेली मुलुक सर्बियामा आकर्षक रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहले तीन नेपाली युवालाई भारतको नयाँ दिल्लीस्थित एक होटलमा डेढ महिनासम्म बन्धक बनाएको खुलेको छ ।

काठमाडौँस्थित म्यानपावरलाई अग्रिम रकम बुझाएर भारतको बाटो युरोप उड्ने तयारीमा रहेका धनकुटा र सुनसरीका तीन युवालाई उद्धारपछि बिहीबार कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा परिवारको जिम्मा लगाइएको छ ।

उद्धार गरिएकामा धनकुटाका २७ वर्षीय श्याम लिम्बू र सुनसरीको इटहरीकी ३० वर्षीया उनकी फुपूका छोरीहरू सीता र शर्मिला (तीनै परिवर्तित नाम) छन् । परिवारसँग पुनर्मिलन हुँदा उनीहरूमा जीवन फर्किएको खुसीसँगै गुमेको लाखौँ रुपैयाँ र भोगेको मानसिक यातनाको पीडा झल्किन्थ्यो । “पहिले आधा पैसा असुले, पछि दिल्ली पु¥याएर अलपत्र पारे,” श्यामले भने, “होटलको ढोका ढकढक्याउँदै पैसा नतिरी नेपाल जान पाउँदैनस् भनेर धम्की दिँदा अब यतै मरिन्छ कि जस्तो लाग्थ्यो ।”

टिकटकमा ‘न्यु समृद्धि म्यानपावर’ को नाम जोडिएको विज्ञापन देखेर तीनै जना काठमाडौँ पुगेका थिए । म्यानपावर प्रतिनिधिले सर्बियामा मासिक १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म (ओभरटाइम गर्दा २ लाख) तलब हुने प्रलोभन देखाउँदै प्रतिव्यक्ति करिब साढे ८ लाख रुपैयाँ लाग्ने बताए । भिसा र कागजात तयार भएको खबरपछि नेपालको विमानस्थलबाट उड्न नमिल्ने सर्त राखेर उनीहरूसँग प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँ अग्रिम असुलियो । तर, पीडितहरू भारत पुगिसकेपछि बुझ्दा काठमाडौँमा भनिएको उक्त म्यानपावरको बोर्ड र कार्यालय नै हटाइसकिएको खुलेको छ ।
दिल्लीमा ४५ दिने बन्धक जीवन
गत असोज १५ (अक्टोबर १) मा झापाको काँकडभिट्टा नाका हुँदै तीनै जनालाई सिलिगुडीको बागडोग्रा विमानस्थलबाट दिल्ली पु¥याइयो । हातमा अक्टोबर ३ को हवाई टिकट थमाइएकाले उनीहरू विश्वस्त थिए । दिल्ली विमानस्थलबाट गोरखा घर बताउने धनबहादुर गुरुङले उनीहरूलाई एउटा होटलमा पु¥याए । “फ्लाइट एक–दुई दिन सरेको छ भन्दै कुर्न लगाए, पछि फोन नै उठाउन छाडे,” सीताले भनिन् ।

डेढ महिना (४५ दिन) बित्दा तीन जनाको होटल बिल ६० हजार भारु (करिब ९६ हजार नेरु) पुगेपछि होटल सञ्चालकले कोठामा थुनेर मानसिक यातना दिन थाले । खर्च अभावले घरबाट ३ हजार ५ सय नेरु मगाउँदा विनिमय र कमिसन काटिएर मुस्किलले २ हजार भारु हात पथ्र्यो । पैसा जोगाउन उनीहरूले पिरो र तेल मात्र भएको होटलको खाना एक छाक मात्र खाएर प्राण धाने, जसले गर्दा तीनै जना बिरामीसमेत परे ।

उद्धार र कानुनी लडाइँ
सबै उपाय सकिएपछि भारतमा नेपालीहरूको उद्धारमा सक्रिय संस्था ‘किङ इन्डिया’ का प्रतिनिधि नवीनमार्फत भारतीय प्रहरीको सहयोगमा नोभेम्बर अन्तिम साता तीनै जनाको सकुशल उद्धार गरियो । एक साताको कानुनी प्रक्रियापछि भैरहवा नाका हुँदै विराटनगर ल्याइएको संस्थाका कोशी प्रदेश संयोजक महेन्द्रकुमार भट्टराईले बताए । चार वर्षमा भारतबाट बेचबिखनको जोखिममा परेका १ हजार २ सयभन्दा बढी नेपालीको उद्धार गरिसकेको उनले जानकारी दिए ।

उद्धारकर्मी भट्टराईका अनुसार भारतको विमानस्थल प्रयोग गर्न दिल्लीस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अनिवार्य भए पनि तस्करहरूले श्रम स्वीकृति र अध्यागमन छल्न काँकडभिट्टा, जोगबनी, भैरहवा र गड्डाचौकी नाका प्रयोग गरिरहेका छन् । नक्कली भिसा र ‘डमी’ टिकट देखाएर दिल्ली र मुम्बईका होटलमा पु¥याई बन्धक बनाउने सङ्गठित सञ्जाल सक्रिय रहेको उनको भनाइ छ ।

पीडितहरूले एजेन्ट गुरुङ र म्यानपावरविरुद्ध उजुरी दिने बताएका छन् । मन्त्रालयकी वैदेशिक रोजगार ठगी सहजीकरणकर्ता गीता बन्जाराले जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा दर्ता र क्षतिपूर्ति प्रक्रियामा पूर्ण सहयोग गरिने बताइन् । सामाजिक विकास मन्त्री गीता तिम्सिनाले पनि पीडितले न्याय पाउने गरी तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित शाखालाई निर्देशन दिइसकिएको र दोषीमाथि कडा कारबाहीका लागि पहल गरिने प्रतिबद्धता जनाइन् ।

बढ्दो ठगी, कमजोर कारबाही
वैदेशिक रोजगार विभागमा मात्रै ठगीका ३० हजारभन्दा बढी उजुरी थुप्रिएका छन्, जहाँ दैनिक औसत ४० उजुरी पर्छन् । विभागका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा ५ हजार ६२४ उजुरी दर्ता भएकामा १ हजार ६७९ मात्र फस्र्योट भए, जसमा ३४ करोड ३७ लाख ९५ हजार रुपैयाँ क्षतिपूर्ति मागदाबी थियो । आव २०८१÷८२ मा १२ हजार ७९०, २०८०÷८१ मा ७ हजार ७६३ र २०७९÷८० मा ३ हजार ३५६ उजुरी परेका थिए । वरिष्ठ अधिवक्ता एवं आप्रवासन विज्ञ सोम लुइँटेलले कानुनी छिद्र र कमजोर कार्यान्वयनको फाइदा उठाउँदै ठगी बढेको बताए । न्याय पाउन वर्षौं लाग्ने र प्रमाण जुटाउन कठिन हुने भएकाले जायजेथा बेचेर ठगिएका पीडितहरू उजुरी गर्नसमेत डराउने गरेको उनको भनाइ छ ।
कानुनी व्यवस्था के छ ?
नेपालको कानुनले यस्ता कार्यलाई गम्भीर अपराध मानेको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ र ४४ अनुसार झुक्याएर रकम असुल्नेलाई बिगो र ५० प्रतिशत हर्जानासहित ३ देखि ५ लाख रुपैयाँ जरिवाना र ३ देखि ७ वर्ष कैद तथा म्यानपावरको इजाजतपत्र खारेज हुने व्यवस्था छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले १० देखि १५ वर्ष कैद र मुलुकी अपराध संहिता, २०७४ ले ठगीमा ७ वर्ष कैद तथा शरीर बन्धक कसुर आकर्षित हुने व्यवस्था गरेको छ ।

अधिवक्ता कला त्रितालले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई समेत छानबिनको अधिकार प्रत्यायोजन गरिएको बताउँदै अवैध बाटोबाट युरोप पठाउने गिरोहमाथि प्रहरी र विभागले कडा निगरानी नबढाएसम्म ठगीका घटना नरोकिने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर