RUMPUM
animated ellipse animated ellipse

‎झापा महिला गोल्डकपको उपाधिका लागि आर्मी र एपिएफविच भिडन्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०८३, शनिबार ०९:०२
3
Shares
दुधे/ दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आमनेसामने हुँदैछन् ।

दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनलअघि दुवै टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने बताएका छन् ।
एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले आर्मीसँगको प्रतिस्पर्धाका लागि आफ्नो टोली तयार रहेको बताए । परिचित प्रतिद्वन्द्वी भएकाले दुवै टोली एकअर्काको रणनीतिबारे जानकार रहेको उनको भनाइ छ । ‘हामी फाइनल खेलका लागि तयार छौँ । आर्मी परिचित टिम हो । हामीलाई उनीहरूको रणनीति थाहा छ, उनीहरूलाई पनि हाम्रो रणनीति थाहा हुन्छ,’ पाण्डेले भने ।

एपिएफकी कप्तान रेनुका नगरकोटीले नियमित कप्तान अनिता बस्नेतको अभाव महसुस भइरहेको बताइन् । नयाँ खेलाडीहरूसँग समन्वय गर्दा केही चुनौती भए पनि टोलीले राम्रो माहोल बनाउँदै उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ ।

आर्मीकी कप्तान दिपा राईले अन्य टोलीको तुलनामा कमजोर प्रतिस्पर्धाका कारण दर्शकको उपस्थिति र खेलप्रतिको आकर्षण कम भएको हुनसक्ने बताइन् ।
आर्मीका प्रशिक्षक राजु तामाङले एपिएफसँगको प्रतिस्पर्धा आफ्ना लागि नयाँ नभएको बताए । यसअघि तीनपटक आमनेसामने हुँदा दुई खेलमा पराजित र एक खेलमा विजयी भएको उल्लेख गर्दै उनले यो चौथो भेट भएको जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक, स्ट्राइकर र गोलकिपरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर