पूर्वाञ्चल खबर
आन्तरिक राजस्व कार्यालय विराटनगरले कार्यालय परिसरमा कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। सप्ताहव्यापी रूपमा मनाउन लागिएको कर दिवसको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कट्टेलले करलाई सरकारलाई बुझाउनुपर्ने बाध्यकारी शुल्कका रूपमा मात्र नभई राष्ट्र निर्माणमा नागरिकले गर्ने योगदानका रूपमा बुझ्नुपर्नेमा जोड दिए। समयमै, सही र पारदर्शी रूपमा कर तिर्नु प्रत्येक नागरिकको नैतिक तथा कानुनी दायित्व भएको उनको भनाइ थियो।
कर प्रणालीलाई सहज, सरल र करदातामैत्री बनाउन प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा उनले जोड दिए। कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउँदै करदाताको योगदानको सम्मान गर्ने वातावरण निर्माण गर्न सके स्वैच्छिक कर सहभागिता बढ्ने उनको भनाइ थियो।
उद्योग, व्यापार तथा लगानीको वातावरण सहज बनाएर करको आधार विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए। राज्य र करदाताबीच अविश्वास होइन, सहकार्य र पारस्परिक सम्मानको सम्बन्ध स्थापित हुनुपर्ने उनले बताए।
करबाट संकलित राजस्व पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा खर्च हुने भएकाले कर तिर्नुलाई राष्ट्र निर्माणमा सहभागिताका रूपमा बुझ्नुपर्ने कार्यक्रममा चर्चा गरिएको थियो।
नेपालमा २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर ९भ्याट० लागू भएको दिनको स्मरण तथा करसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले २०६९ सालदेखि औपचारिक रूपमा राष्ट्रिय कर दिवस मनाउन थालेको हो।
कर दिवसले स्वैच्छिक कर सहभागिता बढाउने, करको दायरा विस्तार गर्ने, करदाता र कर प्रशासनबीचको सम्बन्ध सुधार गर्ने तथा नियमित कर तिर्ने करदातालाई सम्मान गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा उद्योगी, व्यवसायी, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो। सप्ताहव्यापी रूपमा मनाइने दिवसका अवसरमा करसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।