पूर्वाञ्चल खबर
विराटनगर / स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको विराटनगरको चर्चित ‘द स्मृति ब्याण्ड’ले आफ्नो रजत वर्षगाँठको अवसरमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ।
विराटनगर–१६, रानीमा शनिबार साँझ आयोजित ‘झिलिमिली साँझ’ कार्यक्रममा स्थानीय कलाकारदेखि चर्चित गायिका एलिना चौहानसम्मले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए। उद्घाटनपछि सुरु भएको सांगीतिक कार्यक्रममा द स्मृति ब्याण्डले आफ्ना चर्चित गीत प्रस्तुत गरेको थियो। त्यसपछि गायिका एलिना चौहानले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन्।
कार्यक्रममा ब्याण्डले आफ्नो २५ वर्षे सांगीतिक यात्रामा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानसमेत गरेको थियो। यस क्रममा चलचित्र पत्रकार संघ नेपाल, मोरङका अध्यक्ष तथा रंगकर्मी प्रेमकुमार देवानलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।
ब्याण्डको स्थापनाकालदेखि नै सञ्चारमाध्यममार्फत प्रचारप्रसार तथा सांगीतिक यात्रालाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै देवानलाई सम्मान गरिएको ब्याण्डले जनाएको छ।
ब्याण्डका सदस्यसमेत रहेका महानगर प्रमुख कोइरालाले देवानलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए। २५ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय द स्मृति ब्याण्डले आफ्नो वार्षिकोत्सवलाई सांगीतिक उत्सवका रूपमा मनाएको हो।