पूर्वाञ्चल खबर
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा टोलीहरू जित निकाल्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।
आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोर्दै ४ अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको छ। यता पोखरा एभेन्जर्सले पाँच खेलमध्ये एक खेलमा मात्र जित हात पारेको छ भने चार खेलमा पराजित हुँदै तालिकाको अन्तिम स्थानमा छ। त्यसैले पोखराका लागि आजको खेल जितको लयमा फर्कने अवसर हुनेछ।
त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुनेछन्। दिउँसो ४ः३० बजे सुरु हुने यस खेलमा दुवै टोलीको लक्ष्य महत्वपूर्ण अंक जोड्नु हुनेछ।
पाँच खेल खेलेको कर्णाली याक्सले दुई खेलमा जित र तीन खेलमा हार बेहोर्दै तालिकाको सातौँ स्थानमा रहेको छ। यता लुम्बिनी लाइन्सले पाँच खेलमध्ये तीन खेलमा जित निकालेको छ। एक खेलमा पराजित भएको लुम्बिनीको एक खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए। लुम्बिनी हाल तालिकाको तेस्रो स्थानमा रहेको छ।
आजका दुवै खेल अंक तालिकाका दृष्टिले महत्त्वपूर्ण रहेकाले समर्थकहरूले रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा गरेका छन्।