AArya
RUMPUM
animated ellipse animated ellipse

राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको नियोजित र योजनाबद्ध रूपमा हत्या भएको हो : कार्यबाहक अध्यक्ष आचार्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ चैत्र २०८१, आईतवार १९:१३
297
Shares
विराटनगर / नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरको मिडियाले नै अबको पत्रकारिता जोगाउने अवस्था सृजना भएको बताएका छन् ।

पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा उनले अबको पत्रकारिता जोगाउन स्थानीय स्तरको मिडिया सशक्तीकरण गर्नुको विकल्प नभएको बताएका हुन् । स्थानीय स्तरको मिडियालाई सशक्तीकरण गर्न नसकिए पत्रकारिता नै नरहने अवस्था छ, ‘उनले भने, ‘त्यसैले स्थानीय मिडियालाई समानुपातिक रूपमा विज्ञापन उपलब्ध गराउनुका साथै विज्ञापनको दायरा बढाउन महासंघले पहल थालेको छ ।’ सरकारलाई मदिरा, अ‍ौषधीलगायतको विज्ञापन खुलाउन सरकारसँग पहल थालेको आचार्यले जानकारी दिए । उनले प्रेस काउन्सिलमा भइरहेको मिडिया वर्गीकरणलाई पनि समय सुहाउँदो बनाएर राष्ट्रिय र स्थानीय मिडियाको रूपमा विभाजन नगर्न र स्थानीय र प्रदेशस्तरको विज्ञापन त्यहीको मिडियालाई उपलब्ध गराउनु पर्ने व्यवस्थाका लागि पहल थालेको बताए ।

कार्यबाहक अध्यक्ष आचार्यले नेपालको पत्रकारिता संकटपूर्ण अवस्थामा रहेको र राज्यले निर्माण गरेको कुनैपनि कानुन मिडियामैत्रि नभएको सुनाए । त्यसैले तीनै तहको सरकारले पत्रकार महासंघसँगको समन्वयमा कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले सामाजिक सञ्जाल विधेयक यथास्थितिमा पारित गर्न खोजिए महासंघ सशक्त आन्दोलनमा उत्रने बताए । ‘राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको नियोजित र योजनाबद्ध रूपमा हत्या भएको महासंघको ठहर छ,‘ उनले भने, ‘त्यसैले पत्रकार र मिडिया हाउस असुरक्षित रहेको पनि महासंघको ठहर छ ।’

महासंघको कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, स्थानीय मिडिया हाउसलाई सशक्त बनाउने, पत्रकारहरुलाई पेशागत मर्यादामा रहेर आत्मरक्षा तालिम गराउने जस्ता योजना अघि सारेको जानकारी दिए । पत्रकार रजकलाई सहिद घोषणा, परिवारलाई क्षतिपुर्ति, परिवारका एक जना सदस्यलाई रोजगारी र रजकको प्रतिमा तीनकुनेमा राख्नुपर्ने महासंघको माग रहेको अधिकारीले जानकारी दिए । गृह मन्त्रालयले १० लाख राहत र सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले रोजगारी दिने प्रतिबद्धता जनाइसकेको र बाँकी दुई वटा माग प्रधानमन्त्रीसँगको छलफलबाट अघि बढाउने उनले सुनाए । काममा खटिने पत्रकारलाई सुरक्षित राख्न महासंघले कदम चालिसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर