पत्रकार सम्मेलनमा बौल्दै अध्यक्ष ठाकुर तस्वीर- पुष्पराज थपलिया /खबरपूर्वाञ्चल
विराटनगर, ११ वैशाख/ राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन गरेर सरकारले निर्वाचनको वतावरण तयार गरे आफूहरूले निर्वाचनमा भाग लिने बताएका छन् ।
विराटनगरमा राष्ट्रिय जनता पार्टी मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले पुराना सहमतिको कार्यान्वयन गराउँदै संविधान संशोधन गरेमा निर्वाचनको वतावरण बन्ने र आफूहरुले पनि भाग लिने बताएका हुन् ।
अध्यक्ष ठाकुरले सरकारले संविधान संशोधन गरेपछि आफूहरूले निर्वाचनकालागि कार्यक्रम प्रस्तुत गर्ने र दल पनि निर्वाचन आयोगमा दर्ता गर्ने बताए । उनले सरकारले निर्वाचनको वतावरण तयार गरेमा केही दिनका लागि मतदाता नामवली दर्ता कार्यक्रममा पनि थप गर्नु पर्ने हाम्रो माग रहेको र त्यसबारे निर्वाचन आयोगसँग वार्ता गरिने जानकारी दिए ।
अध्यक्ष ठाकुरले हाल जेठ ३१ मा गरीने दोस्रो चरणको निर्वाचनको मिति मात्र तोकिएको तर सरकारले संबिधान संशोधन नगरेको र आयोगले निर्वाचनका कार्यक्रमहरू पनि प्रस्तुत गरिनसकेकोले आफूहरूले माग पूरा नभएमा निर्वाचनमा भाग लिने सम्भावना भने नरहेको जानकारी गराए ।
अध्यक्ष ठाकुरले सरकारकोे भनाइमा मात्र निर्वाचनको वतावरण बनाए पनि संविधान संशोधन नगरेसम्म चुनावको वतावरण बन्नै नसक्ने बताए । ‘सरकारले संविधान संशोधन गरोस् र मुद्दाहरु फिर्ता गरोस निर्वाचनको वतारण तयार हुन्छ,’ ठाकुरले भने । उनले सरकारले निर्वाचतको वतावरण बनाउने विश्वास दिलाएकोले आफूहरूले आन्दोलन तत्काल स्थगित गरेको तर वतावरण तयार नभएमा पुनः शसक्त्त आन्दोलन गर्ने चेतावनी समेत दिन भ्याए ।
अध्यक्ष ठाकुरले पार्टीको नाममा मधेश शब्द हटाउँदैमा आफुहरु मधेशीका नेता नहुने र मधेश र मधेशीको हितमा काम नगर्ने भ्रम नपाल्ने आम मधेशीहरुलाई आग्रह समेत गरे । देशभरका उत्पिडितहरुकालागि एक भएर राष्टिय जनता पार्टी निर्माण गरेको बताउदै ठाकुरले भने— ‘हामीले मधेशको टयाग हटाएका होइनौ बरु आन्दोलनलाई व्यापक बनाउन चाहेका हौ ।,’