RUMPUM
animated ellipse animated ellipse

उपचार खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा विपन्न परिवारको शव बन्धक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०८३, शनिबार २०:५४
3
Shares
विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ५८ वर्षीय ढोमा चौधरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालको बाँकी रकम तिर्न नसक्दा शव बन्धक बनेको छ।

मुटुरोगबाट पीडित चौधरीको विराटनगरस्थित गोल्डेन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उपचारकै क्रममा शुक्रबार बिहान करिब १० बजे चौधरीको मृत्यु भएको उनकी श्रीमती दिलकुमारी चौधरीले जानकारी दिइन्।

अत्यन्तै विपन्न आर्थिक अवस्थाका चौधरीको स्थानीयवासीले चन्दा संकलन गरेर उपचार गराइरहेका थिए। सुरुमा बिरामीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। तर, त्यहाँ आईसीयू बेड खाली नभएपछि विराटनगरको सरकारी अस्पताल (कोशी अस्पताल) वा विराट मेडिकल कलेज लैजाने तयारी गरिएको छिमेकी सुजन पोखरेलले बताए। तर, एम्बुलेन्स चालकले कमिसनको प्रलोभनमा परेर बिरामीलाई सीधै निजी स्तरको गोल्डेन अस्पताल पुर्‍याएको पीडित पक्षको आरोप छ।

‘हामीले गाउँमा चन्दा उठाएर चौधरीको उपचार गराइरहेका थियौँ। अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसकेको छ,’ छिमेकी पोखरेलले भने, ‘सरकारी अस्पताल वा विराट मेडिकल कलेज पुर्‍याइएको भए विपन्न नागरिक कोषमार्फत मुटुका बिरामीले पाउने १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सहुलियत पाइन्थ्यो। तर, एम्बुलेन्स चालक र अस्पतालबीचको कमिसनको खेलले बिरामी यो सेवाबाट वञ्चित भए।’

उनका अनुसार अस्पतालले बाँकी रहेको १ लाख रुपैयाँ नबुझाएसम्म शव लैजान नदिने अडान लिएको छ। ‘परिवारको आर्थिक अवस्था एक रुपैयाँ पनि तिर्न सक्ने छैन। अस्पतालले भनेअनुसारको पैसा तिर्न नसक्दा शव रोकेर राखिएको छ,’ पोखरेलले दुखेसो पोखे।

यता, गोल्डेन अस्पताल प्रशासन प्रमुख मोहम्मद जियाउल हकले भने बिरामी निकै गम्भीर अवस्थामा आइपुगेकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको बताएका छन्। ‘अस्पतालका चिकित्सकहरूले अथक मिहिनेत गर्दा पनि बिरामीलाई बचाउन सकिएन। परिवारको आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले धेरै रकम छुट गरिसकेको छ,’ हकले भने, ‘छुट दिएर अब लाग्ने न्यूनतम शुल्क ९० हजार रुपैयाँ मात्र बुझाउन बाँकी छ। अस्पताल सञ्चालनका क्रममा औषधि र उपकरणमा खर्च हुने भएकाले न्यूनतम शुल्क मागिएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर