पूर्वाञ्चल खबर
विराटनगर / मोरङको विराटनगरस्थित संसारीमाई भगवती मन्दिरबाट चोरी भएको दुर्गा भगवतीको मूर्तिसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको बीआईटी टोलीले शनिबार दिउँसो विराटनगर महानगरपालिका–१५ स्थित नम्बर १ ढाटबाट भारततर्फ जाँदै गरेका धनकुटाको पाख्रिबास गाउँपालिका–८ का २४ वर्षीय सुरज विकलाई नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरीका अनुसार असोज २४ गते दिउँसो ४ बजेर २० मिनेटमा शंका लागेर जाँच गर्ने क्रममा विक भारततर्फ भाग्न खोजेका थिए। त्यसपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विकको साथबाट दुर्गा भगवतीको मूर्ति तथा मन्दिरका अन्य सामानसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। उनलाई गुल्ममा ल्याएर सोधपुछ गर्दा विराटनगर महानगरपालिका–१० स्थित संसारीमाई भगवती मन्दिरबाट उक्त मूर्ति तथा सामान चोरी गरेको खुलेको जनाइएको छ।
नियन्त्रणमा लिइएका विकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।