RUMPUM
animated ellipse animated ellipse

अवैध यौनधन्दा चलाउने प्रवेज आलम पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०८३, बिहीबार २१:०७
9
Shares
विराटनगर / मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई गोप्य म्यासेज (सूचना) आएपछि विराटनगरको एक होटलमा प्रहरीले आकस्मिक अपरेशन चलाएको छ।

विराटनगर–१३ मलाया रोडस्थित नाम नराखिएको एक होटल र त्यस पछाडिको घरमा अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले आज दिउँसो दुई जना किशोरीको सकुशल उद्धार गरेको छ भने सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको बूढीगङ्गा गाउँपालिका–२ बस्ने ४२ वर्षीय मोहम्मद प्रवेज आलम रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार आलमले नामसमेत नराखी होटल सञ्चालन गरेका थिए। उनले होटलको पछाडि रहेको रामनारायण साहको घर भाडामा लिएर अवैध यौनधन्दा चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

उक्त होटलमा पहाडी जिल्लाबाट विभिन्न प्रलोभनमा किशोरीहरूलाई ल्याएर बन्धकजस्तै बनाई सीमापारि भारतबाट आउने ग्राहकहरूसँग अवैध यौनधन्दामा लगाउने गरिएको सूचना मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई म्यासेजमार्फत प्राप्त भएको थियो।

सूचना पाउनासाथ सिडिओ कट्टेलले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललाई तत्काल छापा मार्न निर्देशन दिएका थिए। त्यसलगत्तै एसपी कटुवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको नेतृत्वमा खटिएको संयुक्त टोलीले होटलमा आकस्मिक अपरेशन चलाएको थियो।
सीमा नजिकै रहेको उक्त होटल केही दिनअघि मात्र सञ्चालनमा आएको थियो। त्यहाँ अवैध रूपमा मदिरा बिक्री हुने गरेको र मदिरा सेवन गर्न सीमापारिबाट आउने भारतीय नागरिकहरूलाई लक्षित गरी यौनधन्दा चलाइएको स्थानीयको भनाइ छ।

‘होटलमा अवैध गतिविधि भइरहेको विशेष सूचनाका आधारमा हामीले तत्काल अपरेशन चलाएका हौँ,’ एसपी कटुवालले भने, ‘दुई जना किशोरीको उद्धार गरिएको छ र अवैध धन्दा सञ्चालन गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।’

प्रहरीले उद्धार गरिएका किशोरीहरूको पहिचान भने गोप्य राखेको छ। पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखी थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर