पूर्वाञ्चल खबर
विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाट्न गरे ।
सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए । स्थानीय बजार बलियो बनाउन निजी क्षेत्र, व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यापारिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यको नीति थप प्रभावकारी र व्यवसायमैत्री हुनुपर्ने बताए । सीमावर्ती क्षेत्रका व्यवसायीले भोगिरहेका समस्या समाधान नगरेसम्म स्थानीय बजारलाई प्रतिस्पर्धी बनाउन कठिन हुने उनले बताए।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले खुला सीमा र नेपाल–भारतबीचको कर संरचनामा रहेको असमानताका कारण नेपाली उपभोक्ताको आकर्षण जोगबनीतर्फ बढिरहेको बताए ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले चाडपर्वको समयमा विराटनगरको बजारमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्न सकिने आशाका साथ टे्रेड फेयर आयोजना गरिएको बताए। उनले करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष कारोबार हुने अनुमान गरिएको बताए।
दशैको किनमेल विराटनगरमै रोक्न सके स्थानीय बजारमा करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने आयोजक समितिका अध्यक्ष अग्रवालले बताए ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, प्रदेश योजना आयोगका अध्यक्ष तारानाथ निरौला, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले बोलेका थिए । उनीहरुले स्थानीय उत्पादनको प्रवद्र्धन, कर तथा भन्सार नीतिमा सुधार, व्यवसाय सञ्चालनको लागत घटाउने तथा उपभोक्तालाई स्वदेशमै किनमेल गर्न प्रोत्साहित गर्ने नीति आवश्यक रहेकोमा जोड दिएका दिए। ट्रेड फेयर असोज ३० गतेसम्म सञ्चालन हुने छ ।