पूर्वाञ्चल खबर
आज बिहान विराटनगरको बगरगाछीस्थित विराटनगर–धरान सडकखण्डबाट उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा अभियानको सुरुआत गरिएको हो।
महानगरले यस अभियानलाई औपचारिकतामा मात्र सीमित नराखी हरेक हप्ता निरन्तर सञ्चालन गर्ने उपप्रमुख कार्कीले बताइन् । ‘सफा विराटनगर, आफ्नो विराटनगर’ को संकल्प पूरा गर्न महानगरको प्रयास मात्र पर्याप्त नहुने भन्दै नगरवासीको सक्रिय साथ र सहयोगको खाँचो रहेको बताइन्।
यसअघि महानगरको सम्बन्धित शाखाले सीमित स्रोत र साधन प्रयोग गरी टुक्रा–टुक्रामा काम गर्दा नगर सफा देखिन नसकेको उपप्रमुखको भनाइ छ। ‘विगतमा एक हप्तामा एक सय मिटर सडक सफा गर्दा अर्को साता फेरि त्यहाँ झार उम्रिसक्ने समस्या देखियो,’उनले भनिन्, ‘यसरी काम गर्दा विराटनगर कहिल्यै सफा नहुने भएकाले सबै पक्ष मिलेर एकैपटक बृहत् रूपमा सफाइ गर्ने रणनीति बनाएका हौँ।’ यो अभियान मुख्य सडकको डिभाइडर सफा गर्नमा मात्र सीमित नभई पूरै विराटनगरभरि विस्तार गरिने उनले प्रस्ट पारिन्।
दुई दिनअघि मात्रै आकस्मिक छलफल गरेर काम थालिएकाले पहिलो दिन अपेक्षाअनुसार सर्वसाधारणको उपस्थिति जुट्न नसकेको महानगरले जनाएको छ। पहिलो चरणको कामलाई ‘परीक्षण’ का रूपमा अघि बढाइएकाले अन्य वडाका जनप्रतिनिधिलाई समेत औपचारिक जानकारी नदिइएको कार्कीले बताइन् । ‘अब स्पष्ट कार्यविधि बनाएर जनप्रतिनिधि, स्थानीय संघसंस्था, सुरक्षाकर्मी र आम नागरिकलाई विधिवत रूपमा अभियानमा जोड्नेछौँ,’ उनले भनिन्। शनिबारको अभियानमा नेपाल प्रहरी, स्थानीय संस्थाका प्रतिनिधि र महानगरका सफाइकर्मी गरी करिब एक सय जना खटिएका थिए।
महानगरले फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न २०७८ कात्तिक ५ देखि लागू हुने गरी पाँच वर्षका लागि तीनवटा निजी संस्थासँग सम्झौता गरेको छ। जसअनुसार नगरको उत्तरी क्षेत्रमा ‘नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’, मध्य क्षेत्रमा ‘स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल’ तथा दक्षिणी क्षेत्रमा ‘सगरमाथा मल्टिपल सर्भिस प्रालि’ ले सफाइको काम गर्दै आएका छन्। अभियानमा यी तीनवटै संस्थाका सफाइ टोली पनि सहभागी भएका थिए।