AArya
RUMPUM
animated ellipse animated ellipse

चाडवाडमा ग्यासको संकट झनै गहिरिने हो की भन्दै व्यवसायी चिन्तित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०८३, आईतवार ०७:३८
3
Shares
अनुज सापकोटा
विराटनगर /साउनमा सोमबारको चहलपहल बाहेक खासै सांस्कृतिक पर्व केहि थिएनन् । न त विवाह पासनी थियो न त मुण्डन नै थियो । अफ सिजन भएकोले होटलदेखि पार्टी प्यालेस सुनसान थिए । पारिवारिक, सामाजिक र सांस्कृतिक गतिविधि न्यून भएपनि ग्यास सिलिण्डरको माग उधुम्मै थियो ।

बजारमा ग्यासको माग उच्च हुँदा आपूर्ति चक्र खल्बलिन पुगेको थियो । काठमाडौमा १ सिलिण्डर ग्यासका लागि पानीमा भिज्दै घण्टौ लाइन लाग्नु परेको दृष्य कारूणिक थियो भने विराटनगरमा १ थान ग्यास सिलिण्डरका लागि पसल–पसल चाहर्नु र तछाडमछाड गर्नु अधिकांश सर्वसाधारणको दैनिकी नै बनेको थियो ।

भदौ लाग्दा समेत ग्यासको आपूर्ति विराटनगरमा सहज भइसकेको छैन । प्रशासन ग्यास सिलिण्डरको अनुगमनका लागि पसल पसल पुगेको थियो भने उद्योगको अनुगमनमा कोशी ग्यासको बद्मासी भेट्दा लाखौको जरीवाना लगाएको थियो । ग्यासको आपूर्तिलाई सरल र सहज बनाउन ग्यास लिने ग्राहकको नाम, ठेगाना र फोन नम्बर अनिवार्य बिक्रेताले लेख्नु पर्ने नियम लादिएको थियो ।

असोज २५ गतेदेखि दशैं शुरू छ । लगत्तै तिहार र छठ छ । यी चाडवाडमा ग्यास सिलिण्डरको माग अन्य समयकोभन्दा दोब्बर नै हुनेछ । हाल सामान्य अवस्थामा ग्यास पाउन धौ–धौ भएको बेला चाडवाडमा ग्यासको संकट झनै गहिरिने हो र आपूर्ति सहज नहुने हो कीभन्दै व्यवसायीले चिन्तापोख्न थालेका छन् । चाडवाडमा ग्यास सिलिण्डरको संकट झनै गहिरिनेतर्फ सर्तक हुनुपर्नेमा सरोकारवाला समक्ष व्यवसायीले माग राखेका छन् ।

ग्यास विक्रेता महासंघ कोशीका अध्यक्ष सरलराज पोखरेलले सामान्य अवस्थामा ग्यास सिलिण्डर किन्न उपभोक्तालाई धौ–धौ परेको बेला चाडवाडमा सजिलै ग्यास सिलिण्डर पाइन्छ भनेर कसरी विश्वास गर्ने भनि बताए । उनले विहे ब्रतबन्ध नभएको बेलामा होटलदेखि पार्टी प्यालेससम्म सुनसान हुँदा त ग्यास सिलिण्डर पाउन सकस थियोभन्दै चाडवाड र विहेको सिजनमा ग्यास सिलिण्डर पाउन कत्तिको सकस हुने होलाभन्दै चिन्ता व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले राज्यले ग्यासको सजिलै गरी आपूर्ति चक्र मिलाउन हर सम्भव प्रयास गरिरहेको बताए । उनले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गरेर राख्ने प्रवृत्तिका कारणपनि बजारमा ग्यासको अभाव देखिएको बताए ।

सहायक प्रजिअ कोइरालाले आधा र पुरा सिलिण्डर ग्यासको चक्करमा ग्यासको अभाव देखिन गएको बताउँदै अबको १ महिनाभित्रमा ग्यासको उपलब्धता सहज हुने र भरपुर रमाइलोकासाथ चाडवाड मनाउन पाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर